Shittalpati
पाल्पामा कोरोना संक्रमितको संख्या घट्दै

पाल्पा, कोरोना महामारीको ‘हटस्पट’ बनेको पाल्पामा पछिल्ला दिनहरुमा कोरोना निको हुनेको संख्या बढ्दै गएको छ,भने संक्रमितको संख्या घट्दै गएको छ । गत असार–साउन महिनामा एकाएक उकालो लागेको कोरोना संक्रमणको ग्राफ भदौ पहिलो सातादेखि भने परीक्षणको आधारमा ओरालो लाग्ने क्रममा छ ।

पछिल्ला २४ घण्टामा पनि संक्रमितको दर भन्दा निको हुनेको दर बढी देखिन्छ । जिल्ला स्वास्थ्य कार्यालयले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका ३७ जना संक्रमित निको भएका छन्, भने ११ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १९ जना महिला र १८ जना पुरुष कोरोनामुक्त भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका ११, माथागढी गाउँपालिकाका ५, रामपुर नगरपालिकाका ९, बगनासकाली गाउँपालिकाका १० र रिब्दीकोट गाउँपालिकाका २ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ९ हजार ३ सय ७ पुगेको छ ।

यस्तै,पछिल्लो २४ घण्टामा जिल्लामा ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा ४ जना र एन्टिजेन परीक्षणमा ७ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पीसीआर परीक्षणमा २६ जनाको परीक्षण गरिएकोमा तानसेन नगरपालिकाका ३३ जना र बगनासकाली गाउँपालिकाका १ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ६ हजार ६० पुगेको छ । जसमा २ हजार ३ सय २० महिला र ३ हजार ७ सय ४० जना पुरुष रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको छ । १ सय १२ जनामा परीक्षण गरिएकोमा रामपुरका २, पूर्वखोला, रैनादेवी छहराका १/१ र तानसेनका ३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ३ हजार ६ सय ५ पुगेको छ । जसमा १ हजार ८ सय ६३ जना महिला र १ हजार ७ सय ४२ जना पुरुषमा संक्रमण देखिएको हो । यहाँ अहिलेसम्म २ सय १८ जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले कुल सक्रिय संक्रमितकोसंख्या १ सय ४० पुगेको छ । जसमा १ सय १४ जना होम आइसोलेसनमा रहेका छन् भने ३० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update