Shittalpati
गुल्मीमा आशा अपाङ्ग केन्द्रलाई दियो युनाइटेड साकोसले स्वास्थ्य सामग्री

गुल्मी, युनाइटेड बचत तथा ऋण सहकारी संस्था (साकोस) लिमिटेड तम्घास गुल्मीले आशा अपाङ्ग केन्द्रलाई स्वास्थ्य सामग्री दिएको छ । ‘भेदभावरहित आवद्धता समुदायको उन्नति हाम्रो प्रतिवद्वता’ भन्ने मूल नाराका साथ स्थापना भएको साकोसले शनिबार आफ्नो १४ औं स्थापना दिवसको अवसरमा केन्द्रलाई स्वास्थ्य सामग्री दिएको हो ।

साकोसले रेसुङ्गा नगरपालिका २ मा रहेर फरक क्षमता भएका व्यक्तिहरुको क्षेत्रमा काम गर्दै आएको आशा अपाङ्ग केन्द्रलाई कोरोनाविरुद्ध लड्न सक्ने स्वास्थ्य सुरक्षाका सामग्री दिएको छ । केन्द्रमै पुगि साकोसले केन्द्रका उपाध्यक्ष गंगा रायमाझीलाई डिजिटल वेटिङ मेसिन १ थान, हिटिङ ब्याग २ थान, अल्ट्रासाउन्डका लागि प्रयोग हुने यू फाईब जि जेल ५ लिटर र माक्स सहकारीका अध्यक्ष गुणानिधी शर्माले हस्तान्तरण गरेका हुन् । स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै अध्यक्ष शर्माले सामाजिक उत्तरदायित्व अन्तर्गत केन्द्रलाई स्वास्थ्यका लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको बताए । अध्यक्ष शर्माले जिल्लामै अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा आशा अपाङ्ग केन्द्रले पु¥याएको योगदान र भूमिका अग्रणी र अतुलनीय रहेको भन्दै केन्द्रलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले सहकारीले विगत देखि नै सामाजिक उत्तरदायत्विका रुपमा विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको स्मरण गराए । अध्यक्ष शर्माले सहकारी मूल्यमान्यता, मापदण्ड अनुसार सहकारीका सदस्यहरुको आर्थिक उन्नति र समुदायमा कल्याणकारी भूमिका समेत निर्वाह गर्दै आएको बताए ।

यस अघि पनि सहकारीले बजार क्षेत्रमा सिसि क्यामरा जडान, रेसुङ्गा क्षेत्रको विकाका लागि आर्थिक सहयोग तथा जिल्ला अस्पताल लगायतका क्षेत्रहरुमा विभिन्न सामाजिक तथा रचनात्मक सहयोग गर्दै आएको छ । सोही अवसरमा सहकारीका पूर्व अध्यक्षहरू श्यामकुमार पाण्डे, दुर्गाप्रसाद पाण्डे, राजकुमार श्रेष्ठ, लेखासमिति संयोजक ढुण्डीराज पोखरेल लगायतले आशा अपाङ्ग केन्द्रले अपाङ्गताको क्षेत्रमा खेलेको भूमिका प्रेरणाको स्रोतको रुपमा रहेको उल्लेख गर्दै सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत संस्थासँग भावना र आस्था जोडिएको बताए । उनीहरुले आगामी दिनमा पनि सहकारीले आवश्यक सहयोग पु¥याउँदै जानुपर्नेमा जोड दिए । आशा अपाङ्ग केन्द्रकी उपाध्यक्ष रायझीले संघसंस्थाहरुको सामाजिक सहयोगले नै केन्द्रलाई दिगो राख्नका लागि सहयोग पुर्‍याउने बताउँदै सहकारीलाई धन्यवाद दिइन । रायमाझीले केन्द्र अपाङ्ग व्यक्तिहरुको मात्र नभएर सांङ्ग व्यक्तिहरुको पनि भएको बताइन् । सामाजिक सेवा तथा सहयोग कार्यक्रमको सञ्चालन सहकारीका सचिव रामप्रसाद पन्थीले गरेका थिए । सहकारीको शेयरपुँजी ७ करोड ८७ लाख रहेको छ । यसको बचत २९ करोड भन्दा बढी रहेको छ । ३१ करोड ऋण लगानीमा रहेको संस्थाका कम्युटर सहायक सावित्रा पाण्डेले जानकारी दिए । यसको सम्पत्ति तथा दायित्व ४१ करोड रहेको छ । यो सहकारी वि.स.२०६४ साल भदौ १२ गते सदरमुकाम तम्घासमा रहेका व्यापारी, बृद्धिजिवि, समाजसेवी शिक्षक, महिला, लगायतको सक्रियतामा स्थापना भएको हो । यस सहकारीमा ११ सय भन्दा बढी शेयर सदस्य तथा नाबालक सदस्यहरु ३ सय भन्दा बढी गरी १४ सय भन्दा बढी सदस्यहरु आवद्ध रहेका छन् ।

प्रकाशित मिति: शनिबार, भदौ १२, २०७८  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update