Shittalpati
पाल्पामा कोरोना निको हुने बढे पनि संक्रमण दर घटेन

पाल्पा, जिल्लामा दिनहुँ कोरोना निको हुनेहरुको संख्या बढ्दै गए पनि संक्रमणको दर भने घट्न सकेको छैन । समुदायस्तरमा स्वास्थ्य सुरक्षाका सामग्रीको प्रयोग तथा मापदण्ड पालनामा लापरबाही हुँदा निको हुने संख्या बढे पनि संक्रमणको दर घट्न नसकेको हो ।

सोमबार ५९ जना संक्रमित निको हुँदा ४७ जना नयाँ कोरोना संक्रमित थपिएका थिए । मंगलबार मात्रै ५५ जना संक्रमित कोरोनामुक्त हुँदा ४३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५५ जना संक्रमितले कोरोना जितेका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २८ जना महिला र २७ जना पुरुष कोरोनामुक्त भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका २५, माथागढी गाउँपालिकाका ३, रामपुर नगरपालिका,बगनासकाली गाउँपालिकाका ४/४, रैनादेवी छहरा गाउँपालिकाका ७, रिब्दीकोट गाउँपालिकाका १० र तिनाउ गाउँपालिकाका २ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ९ हजार १ सय ७ पुगेको छ ।

यस्तै,पछिल्लो २४ घण्टामा जिल्लामा ४३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा ५ र एन्टिजेन परीक्षणमा ३८ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पीसीआर परीक्षणमा ३८ जनाको परीक्षण गरिएकोमा बगनासकालीका १ र तानसेन नगरपालिकाका ४ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ६ हजार २० पुगेको छ । जसमा २ हजार ३ सय १ महिला र ३ हजार ७ सय १९ जना पुरुष रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ३८ जनामा संक्रमण पुष्टि भएको छ । २ सय १३ जनामा परीक्षण गरिएकोमा माथागढी, रामपुरका ५÷५, पूर्वखोलाका ९, रेनादेवी छहराका ३, बगनासकालीका ८, रिब्दीकोटका १ र तानसेनका ७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ३ हजार ५ सय ५२ पुगेको छ । जसमा १ हजार ८ सय ३१ जना महिला र १ हजार ७ सय २१ जना पुरुषमा संक्रमण देखिएको हो । यहाँ अहिलेसम्म २ सय १६ जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या २ सय ४९ पुगेको छ । जिल्लामा २ सय २७ जना होम आइसोलेसनमा रहेका छन् भने २२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  १८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update