Shittalpati
पाल्पामा शनिबार ८५ जना संक्रमितले कोरोना जिते

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ८५ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ८५ जना संक्रमितले कोरोना जितेका हुन् ।

जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ४४ जना महिला र ४१ जना पुरुष कोरोनामुक्त भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका २१, माथागढी गाउँपालिकाका २५,रामपुर नगरपालिकाका १३, पूर्वखोला गाउँपालिकाका ४,रैनादेवी छहरा गाउँपालिकाका ५,रम्भा गाउँपालिकाका ४,रिब्दीकोट गाउँपालिकाका ४ र बगनासकाली गाउँपालिकाका ९ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ८ हजार ९ सय २३ पुगेको छ ।

यस्तै,पछिल्लो २४ घण्टामा जिल्लामा ६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा २६ जनाको परिक्षण गरिएकोमा माथागढी, तानसेनका १/१ र रामपुरका ४ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ६ हजार ७ पुगेको छ । जसमा २ हजार २ सय ९४ महिला र ३ हजार ७ सय १३ जना पुरुष रहेका छन् । शनिबार एन्टिजेन परीक्षण भने शून्य रहेको छ । यहाँ अहिलेसम्म २ सय १५ जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ३ सय ६२ पुगेको छ । जिल्लामा ३ सय २८ जना होम आइसोलेसनमा रहेका छन् भने ३४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

 

प्रकाशित मिति: शनिबार, भदौ ५, २०७८  १९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update