Shittalpati
युवा दिवसको सार्थकता

आज विश्वभर अन्तर्राष्ट्रिय दिवस मनाइदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००० देखि विश्वभर युवासम्बन्धी विभिन्न चेतनामूलक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू गरी युवा दिवस मनाउन थालिएको हो । राष्ट्र संघकै घोषणा अनुसार हरेक वर्षको १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने गरिन्छ । नेपालले सन् २००४ देखि यो दिवस मनाउन थालेको हो । गत वर्षदेखि भने कोरोना महामारीका कारण भौतिक उपस्थितीमा दिवसका औपचारिक कार्यक्रमहरु भने हुन सकिरहेका छैनन् । संयुक्त राष्ट्र संघको घोषणा अनुसार युवाका मुद्दाहरूलाई स्थापित गर्नकै लागि यो दिवस मनाउने गरिएको हो ।


युवा भनेको सामान्यतया शारीरिक र मानसिक विकासका दृष्टिले किशोर अवस्था र वयस्क अवस्थाबीचको उमेर समूह हो । यो जनसंख्याको सर्वाधिक सक्रिय, ऊर्जावान र गतिशील समूह भित्र पर्दछ । संसारभर युवाको परिभाषा उमेरका आधारमा फरक–फरक रूपमा गर्ने गरिएको पाइन्छ । नेपालमा १६ देखि ४० वर्षको उमेर समूहभित्रको जनशक्तिलाई युवा मान्ने गरिएको छ । युवा त्यो उमेर समूह हो जसमा राष्ट्रको भविष्यका कर्णाधार वर्तमानका साझेदार तथा विकास र परिवर्तनका संवाहकको सामथ्र्य रहेको हुन्छ । राष्ट्र निर्माणमा सबै उमेर र अवस्थाका व्यक्तिहरुको भूमिका महत्वपूर्ण मानिने सन्दर्भमा युवाहरुको भूमिकालाई अझ अर्थपूर्ण र क्रियाशील रुपमा हेरिन्छ । युवालाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकको रुपमा विकसित हुने अवसर सरकारले सिर्जना गर्नुपर्दछ । हरेक देशमा भएका आर्थिक, सामाजिक, राजनीतिक परिवर्तनमा युवा शक्तिको निर्णायक सहभागिताका कारण परिवर्तन सम्भव भएबाट सरकारले निर्माण गर्ने कानुन, नीति एवं कार्यक्रममा युवा र उनीहरुका सरोकारका विषय सम्बोधन हुन आवश्यक छ । आजका युवा नै भोलिका राष्ट्रका कर्णधार हुन् । उनीहरूलाई उचित शिक्षा दिक्षा, रोजगारको व्यवस्था गरी नेपालको शान्ति र समृद्धिमा सरिक गराउनु आजको आवश्यकता हो । यसो गर्न सके मात्र युवा दिवसले सार्थकता पाउँदछ । अन्यथा दिवस औपचारिकतामा मात्र सिमित बन्न पुग्दछ ।

प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update