Shittalpati
आदिवासी दिवसको सन्दर्भ

हरेक वर्ष ९ अगस्टका दिन विश्व आदिवासी दिवस मनाइन्छ । आज पनि यो दिवस विश्वरभर भौतिक उपस्थिती विना नै मनाइदै छ । कोरोना विश्वव्याधिका कारण अघिल्ला वर्षमा जसरी यस वर्ष यो दिवस मनाउन सकिने परिस्थिति छैन् । समस्याले समाधान वा प्रविधि दिन्छ भनेजस्तै अहिले विश्ववासीले भर्चुअल प्रविधि पाएका छन् । यही भरपर्दो र नजिकको साथी साबित भएको छ । यसलाई प्रयोग गरि अधिकांस देशहरुले यो दिवस मनाउँदै छन् ।

संयुक्त राष्ट्र संघको महासभाले सन् १९९४ को डिसेम्बर २३ मा रिजोलुसन ४९/२१४ ल्याएको थियो । त्यसले ९ अगस्टलाई विश्वका आदिवासीको अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । सन् १९९० मा आइपुगेपछि संयुक्त राष्ट्र संघको महासभाले सन् १९९३ लाई विश्व आदिवासीको अन्तर्राष्ट्रिय वर्ष घोषणा गरेको थियो । त्यसयता प्रत्येक वर्ष युनेस्कोले दिवसका लागि थिम अनुसारको योजना र गतिविधिका सूचना प्रवाह गर्दै आएको छ । विश्व आवादीको २२ प्रतिशत भूमि आदिवासीले ओगटेका छन् । विश्व सांस्कृतिक विविधतामा आदिवासीको ठूलो भूमिका रहेको छ । यहाँ सात हजार हाराहारी आदिवासी भाषा छन् । यिनीहरूमध्ये कतिपय लोपोन्मुख छन् । कतिपय भने राम्रै अवस्थामा रहेको सहज अनुमान लगाउन सकिन्छ । आदिवासी जनता विशिष्ट संस्कृति अभ्यास गर्छन् र त्यसलाई एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्छन् । तिनको संस्कृतिले मानिस र वातावरणलाई जोड्ने बलियो भूमिका पनि खेल्छन् । अलग–अलग आदिवासीबीच उल्लेख्य सांस्कृतिक भिन्नता देखिन्छ । तर, त्यसको बाबजुद, विश्वभरिका आदिवासी जनताबीच अभ्यासमा रहेका संस्कृतिको पहिचान र संरक्षण गर्नु साझा समस्या रहँदै आएको छ । आदिवासीले वर्षौंदेखि तिनको पहिचान, जीवनशैली र ती बसोवास गर्दै आएको परम्परागत जमिन, भूगोल र प्राकृतिक स्रोतमाथिको दाबीलाई अरू मानिसले पनि स्वीकारून् भन्ने चाहेका छन् । तर, इतिहास हेर्ने हो भने तिनको अधिकार सधैँ हनन् भएका छन् । आज आदिवासी सम्भवतः विश्वका सबैभन्दा सुविधाहीन र जोखिमपूर्ण समुदाय हुन् । अहिले आएर विश्व समुदायले तिनको अधिकार, विशिष्ट संस्कृति र जीवनशैलीलाई संरक्षण गर्न विशेष कदम चाल्नुपर्ने आवश्यकता महसुस गरेका छन् । यो समूहको आवश्यकताबारे जनचेतना वृद्धिका लागि अगस्ट ९ मा प्रत्येक वर्ष विश्व आदिवासी जनताको अन्तर्राष्ट्रिय दिवस मनाइन्छ । यसर्थ आदिवासी भाषाको डरलाग्दो रूपमा भइरहेको विनाशप्रति ध्यानाकर्षण गराउनु, यसको संरक्षण, पुनः ताजगी र राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा यस्ता भाषाको प्रवद्र्धनप्रति ध्यान तान्न सके मात्र यो दिवसको सार्थक रहन्छ ।

प्रकाशित मिति: सोमबार, साउन २५, २०७८  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update