Shittalpati
कोरोनाको कहरमा अल्झेको घण्टाकर्ण

मदन देउराली

विश्वव्यापी महामारी कोरोनाले यसपाली पनि घण्टाकर्णलाई छोडेन दुृई वर्ष भयो तानसेनमा घण्टाकर्ण पर्व मनाइएको छैन । प्रत्येक वर्ष श्रावण कृष्ण पक्षको चतुर्दशी तिथिमा गथामुग पर्व मनाइन्छ । त्यो अनुुसार आज घण्टाकण पर्व मनाउने दिन हो तर यसपाली पनि हुन सकेन । परम्परादेखि नेवार समुदायले मनाउँदै आएको घण्टाकर्ण, गँथामुग, गथामुग अर्थात गठेमंगल चाड वर्षको पहिलो पर्वको रुपमा मान्दै आएका छन् । चतुर्दशीलाई नेवारीमा चन्हे भन्दछन् त्यसैले यस दिनलाई गथामुग चन्हे पनि भन्दछन् ।

नेवारी शव्द गँ को अर्थ घण्टा, था भनेको बजाउने र मुग भनेको हथौडा हो त्यस्तै गरी ग को अर्थ घर था को अर्थ स्तम्भ र मुगको अर्थ बलियो हुन्छ । घण्टाकर्ण एउटा दानव हो । यस सम्बन्धमा विभिन्न किंवदन्तिहरु प्रचलित छन् । प्राचीन समयमा नेपाल मण्डलमा गठामगल नामको एउटा देवद्रोही विधर्मी दानव थियो । देवी देवता उसलाई मन पर्दैन थियो । देवताको नाम सुन्न पर्ला सत्य वचन सुन्नु पर्ला भनेर उ कानमा १६÷१७ धार्नीको घण्ट झुण्ड्याएर हिडथ्यो त्यसैले नाम घण्टाकर्ण रहन गयो । फलामको गरगहना लगाउँथ्यो । धर्मकर्म गर्ने सज्जनहरुलाई दुख दिन्थ्यो । उसले विशेषगरी दोबाटो चौबाटोमा ढुकेर बटुवाहरुसँग पैसा उठाउँथ्यो र नदिने मानिसलाई मारेर खाई दिन्थ्यो । उस्को त्यस्तो गतिविधिबाट सर्वसाधारण मानिसहरु आतंकित थिए । यसरी पूरै मानव वस्ती घण्टाकर्णको आतंकबाट आजित भएको देखेर एकजना तान्त्रिकले भ्यागुताको रुप धारण गरी घण्टाकर्ण भएको ठाउँमा पुगे । त्यसबेला घण्टाकर्ण भोकले छटपटाउँदै चौबाटोमा मानिसलाई ढुकेर बसेका थिए । घण्टाकर्णको आहारा भइने डरले त्यसबेला मानिसहरु घरमा नै लुकेर बसेका थिए । घण्टाकर्णले भ्यागुतालाई भेटेर मानव वस्ती जाने बाटो देखाई दिन अनुरोध ग¥यो । भ्यागुतारुपी तान्त्रिकले दलदल भएको ठाउँतिर देखाई त्यहींबाट केही पर पुगे पछि मानव वस्ती भेटिने बताए । आहारा भेटिने आसमा भ्यागुताले देखाएको बाटो हँुदै जाँदा राक्षस दलदलमा फँस्यो, निस्कने कोशिस ग¥यो तर सकेन र रातभरि चिच्याएर वितायो । भोलिपल्ट गाउँलेहरु भेला भएर उसलाई ढुँगामुढाले हिर्काएर मारे । यसरी अत्याचारी घण्टाकर्णको आतंक झेल्न नपरोस् भनेर आजको दिन अत्याचारी घण्टाकर्णको पुतला बनाई दहन गरिन्छ । यही घण्टाकर्ण नामको राक्षस मारिएको उपलक्षमा यो चाड मनाइएको भनिन्छ । घण्टाकर्ण मारेको खुसियालीमा आजको दिन घर सफा सुग्घर गर्ने फलामको औंठी लगाउने तथा हरियो नर्कट, निगालो, गहँुको छवालीको तीन खुुटटे राक्षस बनाई दिनभरि दोवाटोमा राख्छन् । आजको दिन सम्पूर्ण नेवार समुदायले घर भित्र रहेका सम्पूर्ण अपवित्र वस्तु, भूतप्रेत, पिसाच, राक्षस, उपियाँ उडुस तथा रोग व्याधि आदिलाई विधिवत पन्छाई आफनो वासस्थान, टोल, छिमेक र बाटोघाटो सफा बलियो एबं सुरक्षित बनाई राख्न यो पर्व मनाउँछन् । यस पर्व मनाएमा मानिसहरु विभन्नि रोग व्याधिबाट मुतm भई दुख निवारण हुन्छ भन्ने जनविश्वास रहेको छ । यसरी घण्टाकर्णलाई सेलाए पछि दुष्टात्माहरु फेरि फर्केर नआउन भनेर घरको मूलढोकामा फलामको तीन खुट्टे या पाँच खुट्टे किल्ला ठोकी फलाम, पित्तल वा तामाको औंठी लगाउने गरिन्छ । ढोकामा किल्ला ठोके पछि भूतप्रेत राक्षस आदि घरमा आउन नसक्ने र औंठी धारण गर्नाले भूतप्रेत टुनामुना आदिले मानिसलाई छुन नसक्ने जन विश्वास रहेको छ । कतैकतै दोबाटो वा चौबाटोमा दही चिउरा, समयवजी आदि राखेर पनि भूतप्रेत पन्छाउने गरिन्छ ।

तानसेन पहिला नेवारहरुको बस्ति थियो । काठमांडौ उपत्यकाबाट विभिन्न समयमा विभिन्न कामको सिलसिलामा तानसेन आई यही स्थापित भएका नेवारहरुले उपत्यकामा आफुहरुले मनाउने गरेका सबै जात्रा चाडपर्वहरु यहाँ पनि मनाउने चलन चलाएका थिए भनिन्छ । यही सिलसिलामा घण्टाकर्ण पनि प्रत्येक वर्ष तानसेनमा मनाइन्छ । घण्टाकर्णको सम्झनामा श्रावण कृष्ण चतुर्दशीका दिन विहान बाँस तथा पाटीको हाँगा काटेर ल्याई तिनखुट्टे राक्षसको पुतला बनाएर टाउकोमा डरलाग्दो दुबै कानमा ठूला ठूला घण्ट झुण्डाइएको चित्र राखी शितलपाटी, नारायणटोल, टक्सार, भीमसेनटोल, कैलाशनगर, बुसन्तपुरका दोवाटोेहरुमा उभ्याइन्थ्यो तर आजकाल यी सबै ठाउँहरुमा राखिदैन कहि कही मात्र राखिन्छ । केटाकेटीहरु बाटोमा डोरी टाँगेर बाटो छेकेर घण्टाकर्णको जगाती भन्दै बटुवाहरुसंग कर माग्दछन् । पैसा नदिनेहरुलाई घण्टाकर्णको नाती आयो भन्दै ढोग्न लगाउँछन् । दिनभरि सो बाटोबाट हिड्ने बटुवाहरुले स्वेच्छाले घण्टाकर्णलाई ग्रह कटोस् भनेर दक्षिणा चढाउँछन् कसैले जौ तिल, चामल, मासको दाल, बेसार, कालो कपडा, फलामको किल्ला आदि चढाउने गर्दछन् । दिनभरि घण्टाकर्णलाई दोबाटो, चौबाटोमा ठड्याएर राखिन्छ र साँझपख यसलाई सेलाउन लैजान अगि सो काममा संलग्न युवाहरुको टोलीका एक जना युवाले उक्त टोलमा भएका घरघरमा जगाती (कर) माग्दछन् । त्यसपछि यस घण्टाकर्णको मुखमा आगो लगाएर, भुइँमा ढलाएर घिसार्दे तल्लो टोलकाहरुले तीनधारामा र माथिल्लो टोलकाहरुले होलन्दीमा लगेर फाल्छन् या जलाएर सेलाउँछन् । यो खासमा नेवारी समुदायको संस्कृति अन्तर्गतको चलन हो । यसदिन देखि नेवारहरुको चाडपर्व शुरु हुन्छ भनिन्छ । अन्य जातिहरुलाई यस पर्वसँग खास मतलब पनि हुँदैन । पुरानो तानसेन करिव करिव पूरा नेवारी बस्ती नै थियो । त्यसैले आफना संस्कृति अन्तर्गतका सबै जात्रा चाडपर्वहरु धूमधामले मनाउने गर्दथे तर समयको क्रम संगै नेवारहरु बिस्तारै तानसेनबाट पलायन हुँदै गए । भएका थोरै नेवारहरुले लोप हुँदै गएको संस्कृति संरक्षण गर्न सकिरहेका छैनन् जस्सले गर्दा कतिपय संस्कृति लोप भैसके संरक्षणको अभावमा अन्य बाँकी पनि सबै संकटमा छन् । कुनै दिन यी पनि लोप भए आश्चर्य मान्नु पर्दैन ।

यसरी लोप हुँदै गईरहेको तानसेनको नेवारी सस्कृतिको जगेर्ना गर्ने, लोप हुन नदिन तथा यीनीहरुको संरक्षण गर्ने उद्देश्यले केही वर्ष देखि देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान लागि परेको छ । यस प्रतिष्ठानले प्रत्येक वर्ष आफनै पहलमा तानसेन शितलपाटीको चोकमा घण्टाकर्ण बनाई राख्ने गरेको छ भने अन्य टोलहरुमा पनि घण्टाकर्ण राख्नु पर्छ भनेर घण्टाकर्ण बनाई प्रदर्शन गर्ने प्रतियोगिता नै सञ्चालन गरेको छ । विजयी समूहलाई नगद पुरस्कारको व्यवस्था गरेको छ । भने जुन–जुन टोलहरुले घण्टाकर्णको प्रदर्शन गर्छ तिनीहरुलाई पनि सान्त्वनाको रुपमा नगद पुरस्कार दिने गरेको छ । संस्कृति हाम्रो पहिचान हो यसको संरक्षणमा सबै लाग्नु आवश्यक छ । चाहे त्यो आफनो समुदायको होस् वा अन्य समुदायको सबैको संस्कृतिमा हातेमालो गरे मात्र हाम्रो संस्कृति बाँकी रहला नत्र एकादेशको कथामा परिणत नहोला भन्न सकिन्न । अस्तु ।

(लेखक देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठानका अध्यक्ष समेत हुन् ।)

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०७८  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update