Shittalpati
खोप केन्द्र : संक्रमणको थलो

नेपालमा उमेर, वर्ग र पेसाका आधारमा लक्षित समूह तोकेर कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । यो अभियानमा केहीले खोप लगाए भने केहीले लगाउँदै छन् । कोरोना संक्रमण रोकथामको सबैभन्दा भरपर्दो विषय हो खोप । खोप यतिबेला संसारकै सबैभन्दा प्राथमिकतामा परेको विषय हो । आफ्ना नागरिकलाई खोप उपलब्ध गराउनु । यो संक्रमणबाट बच्न अरु उपाय पनि नभएका होइनन् । जस्तो मान्छे मान्छेबाट जोगिनु जोगाउनु आदि । तर यो सतर्कता खोपको विकल्प भने होइन नै ।


अहिले देशभरका खोप केन्द्रहरुमा भीडभाड देखिन्छ । भौतिक दुरी कायम नगर्ने, हतार गर्ने प्रवृत्तिले खोप केन्द्र नै संक्रमणको थलो हुने जोखिम बढाएको छ । खोप लगाएर फर्केको केही दिनपछि ज्वरो आउने, खोकी लाग्ने लगायत लक्षण देखिएका समाचारहरु आउन थालेका छन् । खोप अभियान चल्दै गर्दा ती ठाउँमा उचित व्यवस्थापन हुन नसक्नु र सुरक्षाका मापदण्ड नअपनाएका कारण खोप लगाएको पाँच/छ दिनपछि कोरोना संक्रमण देखिने गरेको पाइएको छ । महामारी विरुद्धको लडाई जित्न यथासक्य सबै नागरिकलाई खोप लगाउनुको विकल्प छैन । तर व्यवस्थापनमा देखिएको यो कमजोरीको मुल्य भने भारी पर्न सक्छ । त्यहाँ परीक्षण नगरिएका, संक्रमण भएका र नभएका व्यक्तिहरु पनि हुने हुँदा भीडभाडले थप संक्रमण फैलाउन सक्ने खतरा रहन्छ । यसैले कोरोना संक्रमण फैलिने केन्द्र बन्न सक्ने जोखिम निराकरणका लागि सम्बन्धित निकायले उचित ध्यान दिन आवश्यक छ । खोपको स्थानीय व्यवस्थापन र सूक्ष्म योजनाको समन्वय प्रदेश र सो मातहतका सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय सरकारले गर्छन् । तर, अहिले प्रभावकारी समन्वय नहुँदा खोप केन्द्र भद्रगोल बनेका छन् । यसले गर्दा थप संक्रमणको खतरा बढेको देखिन्छ । करिब पाँच/सात घण्टाको लाइन, त्यसमाथि सुरक्षाको प्रबन्ध नहुनु, अत्यन्त जोखिममा रहेका वर्गलाई पनि लाइनमै राखिछाड्नु, ठूलो जनघनत्व भएको एकाइमा खोप केन्द्रको संख्या अत्यन्त न्यून हुनुले जोखिम बढाएको पाइन्छ । सग्लो मान्छे कतै खोप केन्द्रमा गएका कारण संक्रमित त भएर फर्किएएको त छैन भन्ने प्रश्नहरू आम तहमा नै उठ्ने गरेको छ । सामान्य व्यवस्थापन गरियो भने यो शंकालाई हटाउन नसकिने भन्ने होइन । एकै ठाउँमा लाइन बस्नुपर्ने र लामो समयसम्म अघिपछिको व्यक्तिसँग टाँसिएर त्यहीँ बसिरहनुपर्ने अवस्थाको अन्त्य मात्रै गरिए पनि धेरै हदसम्म सुरक्षित रहन सकिन्छ । लाइनमा बसेको व्यक्तिलाई कुपन मात्रै दिइयो भने पनि त्यसले भीडभाडलाई घटाउँछ । तसर्थ यसतर्फ सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update