Shittalpati
वी.पी.को स्मरण

वी.पी. कोइराला अर्थात् विश्वेश्वरप्रसाद कोइराला नेपाली राजनीतिक इतिहासले कहिल्यै भुल्न नसक्ने नाम हो । वी.पी. कोइरालाको नामबाटै शुरु हुन्छ नेपाली राजनीतिको परिवर्तनको चरण । उनै नेपाली काँग्रेसका संस्थापक नेता एवं नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री वी.पी. कोइरालाको ३९ औं स्मृति दिवस बुधबार मनाइएको छ । नेपाली काँग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रम गरी दिवस मनाएका छन् ।

नेपाली राजनीतिमा महत्वपूर्ण योगदान दिने, प्रजातन्त्र, राष्ट्रियता र समाजवादका चिन्तक बहुआयामिक व्यक्तित्व वी.पी.को विचार आजपर्यन्त उत्तिकै महत्वपूर्ण छ । उनको आदर्श, नैतिक मूल्यमान्यता र निष्ठाको राजनीति गर्दै आएको काँंग्रेसले अहिले त्यो बाटो छोड्दै गएको हो कि भन्ने अनुभूति भएको छ । आफ्नो सम्पूर्ण जीवनकाल प्रजातन्त्रको लडाइँमा समर्पित गरेका वी.पी. २०१५ सालको संसदीय आमनिर्वाचनमा दुईतिहाईभन्दा बढी मतले विजयी भएपछि जननिर्वाचित पहिलो प्रधानमन्त्री बन्ने सौभाग्य प्राप्त गरेका थिए । तर विडम्बना, आफूलाई जनताको सेवक ठान्ने वी.पी.को समाजवादको आदर्श चिन्तनलाई मुलुकमा प्रजातन्त्र आएको २५ वर्षसम्म पनि नेपाली काँग्रेसले साकार पार्न सकेको छैन । वी.पी भौतिकरूपमा नरहे पनि समाज परिवर्तनका कयौं आधारभूत पदचिन्ह छोडेर गएका छन् । उनले जन्माएर हुर्काएको नेपाली काँग्रेस आज अलमलमा छ । यस्तो अवस्थामा वी.पी.को स्मरण हुनु स्वाभाविकै हो ।

नयाँ युगको आगमनलाई सम्झाउने अग्रगमनकारी वी.पी.को विचारको सान्दर्भिकता आज झनै बढेर गएको छ । उनले गरेको नैतिकता, मूल्य र मान्यताको राजनीति हराउँदै गइरहेको आभाष हुन्छ । प्रजातन्त्र पुनस्र्थापनापश्चात् पटकपटक सत्तामा गएको काँग्रेसले आफ्नो स्थापनाको बाटो बिर्सिएको आरोप लागिरहेको छ । आज वी.पी.ले ०७ सालमै प्रस्तावित गरेको संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा आधारित संविधान निर्माणसमेत भइसकेको छ । तर, वी.पी. मोडलको समाजवाद नेपालमा लागू गर्नेसम्बन्धमा कुनै पनि प्रधानमन्त्रीले चासो नदेखाउनुलाई आफ्नै स्वर्गीय नेता कोइरालाको अपमान भन्न सकिन्छ । वी.पी. राष्ट्रिय स्वाधीनता र राष्ट्रियताबारे स्पष्ट थिए । राष्ट्रियता र स्वाधीनताका मुद्दामा बाँचुञ्जेल कहिल्यै कसैसँग सम्झौता गर्न नचाहने जननायक हुन् उनी । देशको सार्वभौमसत्ता अक्षुण राख्दै जनताको मौलिक अधिकारलाई स्थापित गर्न उनको योगदान स्मरणीय छ । यसर्थ अहिलेको नेतृत्वपंक्तिले भाषणबाट होइन व्यवहारबाटै वी.पी.को आदर्शलाई अंगीकार गर्न सक्नुपर्छ ।

प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update