Shittalpati
सहकारी दिवसको औचित्य

सहकारी दिवस सहकारी अभियन्ता, सहकारीकर्मी सहकारी संघ संस्थाहरूको एउटा पर्व नै हो । हरेक वर्षको जुलाई महिनामा विश्वभर फरक–फरक नाराका साथ यो दिवस मनाउने प्रचलन छ । त्यसले गर्दा सहकारी दिवसले नयाँ ऊर्जा थप्ने गरेको अवस्था छ । नेपालको सन्दर्भमा सहकारीको इतिहास त्यति लामो नभए पनि यो अभियानमा लाग्नेहरूको संख्या उल्लेख्य रूपमा बढ्दो क्रममा रहेको छ । सहकारी दिवसले सहकारी के हो भन्ने कुरा आम जनमानसमा थप जानकारी गराउने र राज्यका सम्बन्धित निकायलाई घचघच्याइने कार्य गरेको अवस्था छ । त्यस्तै गरिबी उन्मुलन गर्दै समाजमा बचत गर्ने बानीको विकास गराउने महत्वपूर्ण भूमिका निर्वाह गर्ने कार्य सहकारी संस्थाको हो भन्ने कुराको पनि जानकारी दिने गरिन्छ । तामझामका साथ सहकारी दिवस मनाउनु मात्रले सहकारी अभियानले सार्थकता पाउँछ भन्न सकिदैन । यसलाई एउटा पर्वको रूपमा मनाउनुका साथै सहकारी भित्र रहेका कमी कमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने आजको आवश्यकता हो ।

सहकारीको उद्देश्य बचत, सापट र जोखिम न्यूनिकरणका लागि बिमा हो । मुलुक संघीय संरचना गएपछि सहकारीलाई व्यवस्थित गर्ने अधिकार सम्बन्धित स्थानीय तहलाई नै दिइएको छ । सहकारी संस्थाको सञ्चालन स्थानीय तहको कार्यक्षेत्रभित्र रहेको वर्तमान अवस्थामा बढ्दो संख्याको सहकारी संस्थालाई व्यवस्थित सञ्चालनका लागि सहकारी ऐनलाई परिमार्जन गरी समयानुुकूल बनाउनुुपर्ने देखिन्छ । सहकारी क्षेत्रमा देशको ठूलो अर्थतन्त्रको हिस्सा रहेको भएपनि संघीय र स्थानीय निकायबाट सहकारी क्षेत्रका सवाललाई कसरी सम्बोधन गरिने हो भन्ने हालसम्म प्रस्ट हुन सकेको छैन । नेपालजस्तो सानो भूूगोल र जनसंख्यामा यति धेरै सहकारी संस्था, त्यो पनि बढ्दो क्रममा रहेको अवस्थामा सहकारी क्षेत्रलाई व्यवस्थित गर्दै सहकारी संस्थाको उद्देश्य, कार्यक्षेत्र वित्तीय अवस्था, पूँजी लगानी असुल उपरका विश्वसनीय पक्ष, अनावश्यक प्रतिस्पर्धा वित्तीय तरलताका समस्या हटाई दिगो व्यवस्थापन र सबल अर्थतन्त्रका लागि सहकारी संस्थाबीच एकीकरण गर्न सके मात्र सहकारी दिवस मनाउनुको औचित्य रहन्छ ।

प्रकाशित मिति: शनिबार, असार १९, २०७८  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update