Shittalpati
जनताको चीत्कार सुन

निषेधाज्ञा बढ्दै जाँदा देशभर भोकमरीको आवाज उठ्न थालेको छ । वैशाख दोस्रो साता सुरु भएको निषेधाज्ञाले नागरिकले जोहो गरेको खाद्यान्न सकिँदै छ । अस्पताल, शैया र अक्सिजनमा मात्रै ध्यान हुँदा भोकमरीले अर्को घटना निम्तन सक्नेतर्फ पनि सचेत बन्नुपर्छ । अघिल्लो चरणको महामारीबाट केही प्रतिशत नागरिकले पाठ सिकेर समयमा गाँस र बास सुरक्षित गरे पनि अब त्यो सकिँदै गएको छ । तर यस तर्फ भने सरकारले कत्ति पनि सोँचेको छैनन् ।
मानिसलाई सबैभन्दा बढी डर भनेकै रोग र भोकको हो । कोरोना महामारीले यससँगै शोक पनि थपेको छ । रोगले निम्त्याएको शोकमा डुबिरहेका बेला थपिँदो निषेधाज्ञा र बढ्दो संक्रमणले भोकमरीको चिन्ता पनि बढाएको हो । अहिले जनताको चिन्ता कसरी भोकसँग जुध्ने भन्ने छ । तर उनीहरुको चीत्कार कसैले सुनेको छैन । कुन घरको कस्तो अवस्था छ ? दैनिकी कसरी चलाइरहेका छन् ? वडाका किसान, मजदुर, व्यापारी र नेताको नामसमेत कण्ठ भएका जनप्रतिनिधि तल्लो तहसम्म भएकाले कुनै पनि समस्याको समाधान गर्न कसैको निर्णय र योजना कुर्न पर्दैन । मात्रै काम गर्ने चाहना भए पुग्छ । तर त्यो चाहाना अहिले सम्म कसैले देखाएको देखिएको छैन । जनता भोकले आकुल ब्याकुल हुन थालेका छन् । उनीहरु अब सडकमा निस्कन मात्र बाँकी छ । उता अस्पतालमा बेड र अक्सिजन नपाएर धेरैले ज्यान गुमाईसकेका छन् । यस्तो अवस्थामा भोक र रोग दुवैबाट जनातालाई जोगाउन चुनौती पनि छ । तर यसो भन्दैमा सरकार यहाँबाट उम्कन भने पाउदैन । सरकारले अहिलेको अवस्थामा दुवै कामलाई सगँसगै लैजानुपर्छ । पछिल्लो समय सरकारले विरामीहरुको उपचारमा केही चासो देखाए पनि विपन्न वर्ग भोको रहने अवस्थालाई भने वेवास्ता गरेको छ । संक्रमणको अवस्था अझ यस्तै रहदै जाने हो भने दैनिक ज्याला मजदुरी गरी जिवीकोपार्जन गर्ने वर्ग रोगले भन्दा पनि भोकले मर्नुपर्ने अवस्था आउन सक्छ । तसर्थ सरकारले यस्ता जनताहरुको चीत्कारलाई सम्बोधन गर्न राहतका कार्यक्रम ल्याउन ढिलाई गर्नु हुँदैन ।

प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update