Shittalpati
महामारीमा सामूहिक प्रयास आवश्यक

मुलुक कोरोना महामारीले आक्रन्त छ । धेरैले यो महामारीबाट ज्यान गुमाएका छन् भने कयौ नागरिक अझै कोरोना संक्रमणसँग लडिरहेका छन् । कोरोनाको नयाँ ‘भेरियन्ट’ले संक्रमण र मृत्युदरलाई बढाउँदा महामारी नियन्त्रण चुनौतिपूर्ण बनेको छ । लगभग देशैभर निषेधाज्ञा छ, बाध्यताले सुनसान सडकमा निस्कनेहरू बाहेक शववाहन र एम्बुलेन्सका ‘साइरन’ मात्रै सडकमा सुनिन्छन् । संक्रमणले सहर मात्रै नभई गाउँका कुना–कुनासम्म आफूलाई फैलाउँदा यसबाट अब कुनै पनि समय जो कोहीलाई संक्रमण हुने निश्चित प्रायः छ । अब जोगाउने र जोगिने बाहेक हामीसँग विकल्प छैन । संक्रमित भएर उपचार गर्न जानुपरे अस्पतालका शैया नपाउने अवस्था छ । जताततै अक्सिजनको अभाव छ ।

कयौ नागरिकले उपचार नपाएर अकालमै ज्यान गुमाउनु परेको पीिडा छदै छ, लामो समयसम्मको बन्दाबन्दीका कारण कयौं नागरिकहरु भोकले मर्नुपर्ने अवस्था समेत कहाली लाग्दो बन्दै गएको छ । बन्दाबन्दीले उद्योग, कलकारखाना सबै ठप्प छन् । जसलेगर्दा दैनिक ज्याला मजदुरी गरी जिवीकोपार्जन गर्ने नागरिक भोकले मर्ने अवस्था समेत सिर्जना हुन थालेको छ । यस्तो अवस्थामा सरकारले उनीहरुका लागि राहतका कार्यक्रमहरु ल्याउन ढिलाई गर्नु हुँदैन । कोरोना समाजमा भित्रिएको नयाँ रोग हो । स्वास्थ्य विज्ञहरूका अनुसार फरक रूपमा समय समयमा फैलने हुँदा यसबाट सुरक्षित भएर जोगिनु र जोगाउनुको विकल्प छैन । संक्रमण भए समयमा उपचार गर्ने, संक्रमितको स्वास्थ्य मापदण्ड अपनाउँदै स्याहार, सेवा र उपचार गर्नबाट अब कोही पनि भाग्नु हुँदैन । ‘म पनि कुनै समय संक्रमित हुन सक्छु’ भन्ने यथार्थ बुझेर अरूलाई आइपरेका अप्ठ्यारामा कम्तिमा सहज वातावरण बनाउनै पर्छ । सामूहिक प्रयासबाट मात्रै यस्ता महामारीलाई जित्न सकिन्छ । घामपानी नभनी खटिएका स्वाथ्यकर्मी र सुरक्षाकर्मीको जनशक्ति कम छ । उनलाई साथ दिन र महामारीमा एकजुट भएर यसलाई नियन्त्रण गर्न सामूहिक रुपमा जुट्नु आजको आवश्यकता हो ।

प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update