Shittalpati
समस्या स्रोत, साधनको होइन व्यवस्थापनको हो

पँहुचवालाको घर घरमा अक्सिजनका सिलिन्डर । सांसद र मन्त्रीले सिसिन्डर लिए । सासदले अक्सिजन सिलिन्डर बाँडे । अस्पतालमा अक्सिजनको अभाव । अक्सिजनको अभावमा विरामीको मृत्यु । यस्तै यस्तै समाचारले पछिल्लाहरु दिनहरुमा व्यापकता पाईरहेको छ । कोरोना महामारीले पिडा त दिएकै थियो नेपालीको मनमा यस्ता समाचारले चुक लगाउने काम गरिरहेको छ । समाधानको त कुुरै नगरौ जती संकट थपिदै जान्छ यो प्रवृत्ति घट्ने होइन झन झन बढदै जाने देखिन्छ अन्नत समय सम्म । स्वास्थय क्षेत्रका निकायले गर्नु पर्ने कार्य गैर स्वास्थयका मानिसहरुले गरेको देख्दा र सुन्दा हाम्रो देशको बेथितिको झल्को दिने रहेछ । यसले हाम्रो व्यवस्थापन पक्षमा रहेको कमिकमजोरीलाई उदाङ्ग गराउदो रहेछ । यिनै विविध पक्षको बारेमा यस लेखमा चर्चा गर्न खोजिएको छ ।
बजेट बनाउने बेलामा, विभिन्न आयोजनाहरु अथवा देशमा असहज स्थिती आउने वित्तीकै द्विपक्षीय र बहुपक्षीय स्रोतबाट अनुदान र सहयोगका लागि सरकारले हात थाप्ने तर आफ्नो आन्तरिक स्रोत र साधनमा भने फजुल खर्च, स्रोत साधनको दुरुपयोग र अनावश्यक खर्च नियन्त्रण गर्नेतर्फ ध्यान नदिनु /दिन नखोज्नुलाई राम्रो मानिदैन । यी पक्षमा सुधार गरि हामीसँग रहेका स्रोत साधनको वैज्ञानिक व्यवस्थापन गरी प्रयोग गर्नु जरुरी देखिन्छ । यी पक्षमा सुधार गर्न सकिएमा साना तीना समस्या आउने वित्तिकै वाह्य देशतर्फ हात फैलाउन नपर्ने देखिन्छ ।
देशमा असहज स्थिति आउदै छ । जिम्मेवार वा उच्च पदमा बसेको नागरिकबाट नै आफू र आफ्नो परिवार बाहेक अरुलाई देख्दै नदेख्ने गलत र लज्जास्पद क्रियाकलापले जो कोेहीको लाई दुःखी बनाउन्छ । केहि देशमा असहज स्थिति देखापर्ने वित्तिकै हिजो एक पोका नुन,एक किलो चिनि , एक बोरा चामल, एक वटा ग्यास सिलिन्डर ,१/२ किलो आलुले आफ्नो दैनिकी चलाएका हामी घरमा आवश्यकता भन्दा बढी यस्ता सामान ल्याउन प्रतिस्पर्धा गर्न थाल्दछौ । यसले समस्यालाई झन थप्ने काम गरेको पाईन्छ । नागरिकबाट हुने यस्ता गलत प्रवृत्ति अन्तःनहुनजेल हरेक क्षेत्रमा साधनको अभाव देखिने छ । यो महामारीमा स्वास्थ्य क्षेत्रमा देखिएको समस्या पनि नागरिकको यहि गलत प्रवृत्तिले उत्पन्न गराएको हो । सरकार र सरकारका निकायले नागरिकबाट विश्वास जित्न नसक्नुको कारणको रुपमा यस पक्षलाई लिदा खासै फरक नपर्ला । भूकम्प र नाकाबन्दीमा देखिएको उपभोग्य वस्तुको अभावलाई यसको उदाहरणको रुपमा लिन सकिन्छ । हामी सँग उपभोग्य सामानको अभाव होइन त्यसको
सहि व्यवस्थापन र नियन्त्रण नहुनुको कारणका रुपमा यस्ता क्रियाकलापहरु देखापर्ने गर्दछन् । स्वास्थ्य क्षेत्रका विज्ञले कोरोकनाको यो अवस्था आउनु पहिले नै सरकारलाई जानकारी गराएका थिए । तर सरकार सक्ता टिकाउन,उद्घाटन र शिल्यान्यासमा रमाइरÞयो । जिम्मेवार विपक्ष राजनितिक दलहरु मुकदर्शक भै रहे । समस्या आखा अगाडि आयो तब अस्पताल, बेड र अक्सिजन सिलिन्डरको खोजीमा दौडधुप गर्न थालेको पाईन्छ । अस्पतालमा विरामीले बेड नपाउने, अक्सिजनको अभावमा छट्पटाए पछि यसको व्यवस्थापनमा लाग्ने कामको अन्तः हुनुपर्दछ । हामीसँग भएको साधनको उचित व्यवस्थापनमा लाग्नु जरुरी देखिन्छ ।
हामीसँग उपयुक्त र समय अनुकुल व्यवस्थापन प्रणालीको अभ्यास नगरी शक्ति र पहुँचको प्रयोग गरेकै कारण अहिले अक्सिजनको अभाव देखिएको हो । हामीसँग साधनको अभाव होइन त्यसको वितरण, अनुगमन पक्ष कमजोर भएको कारण कतै प्रशस्त मात्रामा अक्सिजन सिलिन्डर कतै हाहाकार देखिएको छ । यस्तो बेलामा व्यक्तिको घरमा सिलिन्डर थुप्रिनु र अस्पतालमा विरामीले ज्यान गुमाउनुले हाम्रो व्यवस्थापन पक्षको कमजोरीलाई प्रस्टयाएको पाईन्छ । हामीले स्वास्थ्य सामग्रीमा कालोबजारी गर्ने, कृत्रिम अभाव गराउनेलाई कडा भन्दा कडा कारवाही गर्न नसक्नुले पनि अपठ्यारो स्थितिमा यस्ता लजास्पद र गैर मानवता सम्वन्धी घटनाहरु घट्ने तथा दोहरीने गरेको पाईन्छ । वि.स २०६२/०६३ को जन आन्दोलन अथवा अझै भनु गणतन्त्र स्थापना पछि यो देशमा यस्तो व्यथिति स्थापना भएको छ की राज्य पक्ष तथा जिम्मेवार राजनितिक दलले गर्ने हरेक क्रियाकलाप भोट तथा कमिशनसँग जोडिएको सजिलै देख्न सकिन्छ । कोरोना खोपमा पहुँचवाला र नेताका नजिकका मानिसले मापदण्ड भन्दा विपरीत लगाउन पाउनुलाई बेथितिको रुपमा लिन सकिन्छ  । यो महामारीमा अक्सिजन र अस्पतालमा शैया नपाउनुको अभावलाई पनि भोट र कमिशनसँग जोडिनु नेपालीका लागि दुःखद् पक्ष हो । यसको प्रत्यक्ष प्रभाव निमूखा र पँहुच बाहिरका वर्गहरु पर्ने गरेको पाईन्छ । कोरोनाको पहिलो चरणमा मास्क र स्वास्थ्य सामग्रीमा अभाव, अहिलेको दोस्रो चरणमा अक्सिजनको अभाव हुनु साधनको कमीलाई मात्र लिन सकिदैन हाम्रो व्यवस्थापकीय क्षमतामा भएको कमजोरीलाई पनि लिन सकिन्छ ।
असहज स्थितिमा पँहुचवाला मालामाल हुने सर्वसाधरण कतै पहुँच नभएका अभिभावक विहिन हुने संस्कारको अन्तः हुन जरुरी छ । अक्सिजनको सिलिन्डरको वितरण प्रणालीमा सुधार गर्नुृ जरुरी देखिन्छ । घर घरमा राख्नका लागि अथवा व्यक्ति विशेषलाई नदिई सिधै अस्पतालमा दिने व्यवस्था गर्नु जरुरी देखिन्छ । अस्पतालमा पनि मान्छे र पहँुच हेरेर हैन आवश्यकता हेरेर अक्सिजनको प्रयोग गर्नु पर्दछ । सामान्य विरामी पनि पहुँचका आधारमा अस्पतालको शैया ओगटेर बस्ने प्रवृत्ती देखिएकोे र गम्भीर समस्या भएकाले अस्पतालमा बेड नपाउने अवस्था अहिले देखिएकाले यसको अन्त्य गर्ने खालको व्यवस्थापन हुनु जरुरी देखिन्छ । यसका साथै अस्पतालले विरामीको अवस्था हेरेर भर्ना लिने प्रणाली विकास गर्नुपर्छ । कमिशन, कालोबजारी, कृत्रिम अभाव देखाउँने र राजनितिक आडमा गरिने यस्ता कार्यमा संलग्नलाई कानुनी कारवाही गर्न नसक्नु राजनितिक ढाकछोपमा गरिने यस्ता विकृतिको अन्त्य गर्न सकिएमा वर्तमान समयमा देखिएका समस्याको अन्त्कय हुने देखिन्छ । यी पक्षमा सुधार गर्न सकिएमा अहिले स्वास्थ्य क्षेत्रमा वा स्वास्थ्य प्रणालीमा देखिएको बेथिति र अभावको अन्त्य गर्न सकिन्छ  ।
हामीसँग स्रोत र साधनको अभाव मात्र हैन हामीले ती साधनको सही परिचालन र व्यवस्थापन गर्न नसक्नु हाम्रो गम्भिर भूल हो । अहिले यो महामारीमा देखिएको स्वास्थ्य क्षेत्रको अभाव र समस्या पनि हाम्रो व्यवस्थापकीय पक्षमा रहेको कमजोरीका कारण उत्पन्न भएको हो । हाम्रो नियमन निकाय र वितरण प्रणालीमा रहेको बेथितिकै कारण यी समस्या उत्पन्न भएको हो । आगामी दिनमा स्रोत र साधनको बेलैमा सहि व्यवस्थापन गर्न सकिएमा यस्तो समस्या आगामी दिनमा देखिदैन्थ्यो की ? सम्बन्धित निकायले बेलैमा यसतर्फ ध्यान दिने की ?

(लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)

प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update