Shittalpati
गुल्मीमा आइतबार ९ जना कोरोना संक्रमितको मृत्यु

गुल्मी, गुल्मीमा पनि कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको छ । यहाँ आइतबार मात्र ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विभिन्न अस्पतालमा उपचार गराइरहेका रेसुङ्ग नगरपालिकाका चार जना संक्रमित सहित जिल्लाका विभिन्न ठाउँका ९ जना संक्रमितको मृत्यु भएको हो ।
जिल्लाको रेसुंगा नगरपालिका –२ की ७५ बर्षीया महिलाको तम्घास अस्पतालमा उपचारका क्रममा आईतबार मृत्यु भएको जनाइएको छ । त्यस्तै रेसुङ्गा नगरपालिका –१ की ६६ बर्षीया महिलाको चितवन मेडिकल कलेज चितवनमामृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै स्वास्थ्य कार्यालयका अनुसार रेसुंगा नगरपालिका –१२ का २७ बर्षीय पुरुषको उपचारका क्रममा पाल्पा लैजादै गर्दा एम्बुलेन्स मै मृत्यु भएको र रेसुंगा –७ का ६४ बर्षीय पुरुषको चितवनमै उपचारको क्रममा मृत्यु भएको छ ।

यस्तै जिल्लाको कालीगण्डकी गाउँपालिका –५ फोक्सिङका ५१ बर्षीय शिक्षकको स्याङजाको कालीगण्डकी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको छ । सत्यवती गाउँपालिका– ७ का ८० बर्षीय पुरुषको होम आइसोलेशन र इश्मा गाउँपालिका –३ का ८१ बर्षीय पुरुषको रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै धुर्कोट गाउँपालिका –२ का ३२ बर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मृत्यु भएको र मालिका गाउँपालिका ५ का ५१ बर्षका पुरुषको छाउनी अस्पताल काठमाडौँमा मृत्यु भएको कार्यालयले जनाएको छ । यसोसँगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४६ पुगेको छ । यहाँ अहिले सक्रिय संक्रमितको संख्या ९ सय ३४ रहेको स्वास्थ्य कार्यालयका गोपाल कार्कीले जानकारी दिए । गुल्मीमा हालसम्म २ सय ६ जना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् ।

 

 

प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update