Shittalpati
पाल्पाका पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री

पाल्पा,कोभिड–१९ को जोखिम बढिरहेका बेला अग्रपङ्तिमा रहेर खटिने जिल्लाका पत्रकारहरुलाई न्यूनतम स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ । जिल्लाका विभिन्न स्थानीय सरकारहरुबाट प्राप्त स्वास्थ्य सामग्री नेपाल पत्रकार महासंघ पाल्पा शाखाले वितरण गरेको हो ।

पत्रकारको सुरक्षा र सहजताका लागि सर्जिकल मास्क, ग्लोब्स, स्यानेटाइजर, थर्मन मिटर, फेस शिल्ड प्रदान गरिएको छ । पत्रकार महासंघ पाल्पा शाखाको कार्यालयमा ती सामग्री वितरण गरिएको थियो । महासंघका उपाध्यक्ष भरत शर्माले स्थलगतरुपमै खटिने छापा, अनलाइन, रेडियो तथा टेलिभिजनमा कार्यरत पत्रकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । सामग्री हस्तान्तरण गर्दै उपाध्यक्ष शर्माले
कोरोनाको संक्रमण बढ्दै जाँदा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जस्तै फिल्डको रिपोर्टिङमा खटिने पत्रकारहरु पनि जोखिममा रहेको भन्दै स्थानीय सरकारको सहयोगमा स्वास्थ्य सुरक्षा सामग्री उपलव्ध गराइएको बताए । उनले स्वास्थ्य सामग्री उपलव्ध गराउने स्थानीय सरकारलाई धन्यवाद दिँदै विश्वव्यापी संकटलाई मिलेर सामना गर्नुपर्ने बताए ।

उक्त स्वास्थ्य सुरक्षा सामग्री रिब्दीकोट गाउँपालिका र रम्भा गाउँपालिकाको सहयोगमा प्रदान गरिएको महासंघका सचिव यज्ञमूर्ति तिमिल्सीनाले जानकारी दिए । संक्रमित भएका पत्रकारहरुलाई होमआइसोलेसनमै पुगेर वितरण गरिएको थियो भने अन्यलाई महासंघको कार्यालयमा वितरण गरिएको हो । अहिलेसम्म १९ जना पत्रकारहरुलाई वितरण गरिएको र स्वास्थ्य सामग्री नपाएका पत्रकारलाई सम्पर्क गरेर सामग्री उपलब्ध गराइने सचिव तिमिल्सीनाले बताए । महासंघमा अहिले ९९ जना सदस्य रहेका छन् । ति सबैलाई क्रमश वितरण गरिने छ । महासंघले कोरोना संक्रमित पत्रकारहरुका लागि आफ्नै भवनमा ५ वेडको आइसोलेसन कक्ष समेत निर्माण गरेको छ ।

 

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  २०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update