Shittalpati
पाल्पा काँग्रेसको पार्टी कार्यालय आइसोलेसनलाई दिइने

पाल्पा,नेपाली काँग्रेस पाल्पाको पार्टी कार्यालयलाई कोभिड प्रभावितका लागि आइसोलेसन बनाउन दिइने भएको छ । जिल्लामा संक्रमण दर बढ्दै गएपछि नागरिकको उपचार सहज बनाउन विपी स्मृति भवनलाई कोभिड–१९ रोकथामका लागि आवश्यक परेमा आइसोलेसन कक्ष बनाउन काँग्रेसले जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई स्वीकृति दिइएको हो ।

पाल्पामा पनि कोरोना संक्रमितको दर बढेकाले अस्पतालमा शैया अभाव हुन सक्छ त्यसैले बिरामीलाई राखेर उपचार गर्न ठाउँ अभाव भएमा पार्टी कार्यालयलाई आइसोलेसन वा कोभिड अस्पतालकारुपमा प्रयोग गर्न भवन दिइने काँग्रेसका जिल्ला सभापति वीरबहादुर रानाले बताए । उनले भने ‘मैले यो विषयमा केही दिनदेखि सोचिरहेको थिएँ, अहिले जिल्ला कोभिड व्यवस्थापन केन्द्रका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेसँग मौखिक रूपमा प्रस्ताव गरेको छु । उहाँहरू खुसी हुनुहुन्छ । हामीले यस्तै बेलामा त हो जनताका लागि सहयोग गर्ने ।’
पार्टी कार्यालय कोभिड अस्पतालका रूपमा प्रयोग गर्न दिनु सकारात्मक रहेको र आवश्यकतानुसार भवन प्रयोग गरिने जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ ।

तानसेनस्थित सिल्खानटोलमा रहेको सुविधा सम्पन्न भवन साढे २ तलाको छ । यहाँ ७ वटा कोठा रहेका छन् । यो भवनमा ५० बेड सम्म राखेर संक्रमितको सहजै उपचार गर्न सकिने छ । यो भवनको प्रत्येक तलामा छुट्टा–छुट्टै शौचालय रहेकाले कोभिड प्रभावितलाई उपयोगी हुने छ  ।

 

प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update