Shittalpati
विवाहले फैलाउँदै कोरोना


रामचन्द्र रायमाझी
पाल्पा, केही दिन अघि बुटवलमा भएको विवाह कार्यक्रमा सहभागी हुन पुगेका तानसेनका दुई जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भयो । आफ्ना भान्जाको विवाहमा सहभागी हुन पुगेका श्रीमान, श्रीमतिलाई नै संक्रमण भएको छ । यति मात्र होइन त्यो विवाहमा सहभागी अन्य दर्जानौ व्यक्तिहरु समेत संक्रमणको शिखार बन्न पुगेका छन् । यस्तै एक हप्ता अघि गुल्मीको मुसिकोट नगरपालिकामा पनि विवाहमा सहभागी भएका तीन जना व्यक्तिमा संक्रमण देखियो । आफ्न्तको विवाहमा सहभागी हुन पुगेका उनीहरुमा ज्वरो आउने ,टाउको दुख्ने समस्या भएपछि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो । यी त केही प्रतिनिधि घटना मात्र हुन् ।

पछिल्लो समय सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गर्दै विवाह र भोज दैनिक भइरहँदा कोरोना संक्रमण फैलिदै गएको छ । स्थानीय प्रशासनहरुले सम्बन्धित जिल्लाहरुमा संक्रमणको दर बढ्दै गएपछि निषेधाज्ञा लगाएका छन् । उनीहरुले एक हप्ता अघि २५ जना भन्दा बढी विवाह, ब्रतबन्ध र अन्य संस्कारका कार्यक्रमहरुमा सहभागी हुन रोक लगाए थिए । अहिले आएर स्वास्थ्य सुरक्षाका मापदण्डहरु अवलम्वन गरेर १५ जना मात्र सहभागी हुन भनिएको छ । त्यहि पनि धेरैले यसको पालना गरेका छैन । अहिले विवाह र पुजाआजको समय भएकाले पनि धेरै ठाउँहरुमा धामाधम विवाह, पूजाआज हुँदै आएका छन् । स्थानीय प्रशासनहरुको निर्देशनलाई उल्लङ्घन गर्दै विवाह, भोजभतेरका कार्यक्रमहरु भएका छन् । जसका कारण संक्रमण एक ठाउँबाट अर्को ठाउँमा सहजै फैलिदै गएको आमनागरिकको गुनासो छ ।

पाल्पामा अहिले ९ सयभन्दा बढी सक्रिय संक्रमित पुगेका छन् । संक्रमण फैलिनुमा नागरिकको लापरवाही, एक ठाउँबाट अर्को ठाउँमा मानिसको आवतजावत, र त्यसमा पनि अटेर गरेर आयोजना गरिने विवाह, भोज मुख्य कारण रहेको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख नारायणप्रसाद चौधरीले बताए । उनले भने, ‘जिल्लामा कोरोना संक्रमण अस्वभाविक रुपमा बढ्नुमा विवाह लगायतका संस्कारजन्य क्रियाकलापमा नागरिकको बढी लापरवाही देखिन्छ,।’ योसँगै बजारमा सस्तोमा पाइने रङ्गीचङ्गी मास्कहरुको प्रभावकारीता र गुणस्तर नहुनु पनि संक्रमण निम्त्याउनु रहेको प्रमुख चौधरीको भनाई छ ।

नागरिकहरु मेला,महोत्सव, विवाह जस्ता कार्यक्रममा सहभागी भएका कारण नै जिल्लामा संक्रमणको दर बढेको हुन सक्ने प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताए । उनले भारतमा लागेको कुम्भ मेलामा सहभागी भई फर्किएका रैनादेवी छहरा, रामपुर, रम्भाका नागरिकहरुका कारण पनि जिल्लामा संक्रमण फैलिएको हुन सक्ने बताए । संक्रमण फैलिनुमा पाल्पाका नागरिकहरु बुटवलमा विवाह, भोजभतेर र व्यापार व्यसायीमा आउ जाउ गर्ने भएकाले पनि संक्रमण फैलिएको हुन सक्ने प्रजिअ पाण्डेको भनाई छ । ‘निषेधाज्ञा छ, भिडभाड नगरौं, विवाहमा १५ जना मात्रै जानुस् भनेर निर्देशनसमेत गरेका छौँ, तर नागरिकले त्यसको परिपालना नगर्दा समस्या आएको हो ।’

 

प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  २०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update