Shittalpati
पाल्पामा स्थानीय सरकारद्वारा पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग

पाल्पा, जिल्लाका केही स्थानीय सरकारहरुले पत्रकारहरुको सुरक्षाका लागि स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेका छन् । कोरोना महामारीका बेला अग्रभागमा रहेर समाचार संकलन गरिरहेका जिल्लाका क्रियाशिल पत्रकारहरुको लागि रिब्दीकोट गाउँपालिका र रम्भा गाउँपालिकाले पत्रकार महासंघ पाल्पा शाखालाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।


रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसी, उपाध्यक्ष लक्ष्मी खनाल, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनाल, प्रवक्ता बिष्णु प्रसाद खनाल र स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले महासंघका उपाध्यक्ष भरत शर्मालाई उक्त सामाग्री हस्तान्तरण गरेको महासंघका सचिव यज्ञमूर्ति तिमिल्सिनाले जानकारी दिए । सामग्री हस्तान्तरण गर्दै अध्यक्ष जिसीले पत्रकारिता क्षेत्रले सामाजिक सन्देश प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । उनले पत्रकारिता क्षेत्रको संस्थागत विकासका लागि स्थानीय सरकार सदैव तयार रहेको समेत औल्याए । पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्माले पत्रकार महासंघले आफ्नो शाखा भवनमा निर्माण गर्न लागेको आइसोलेसन कक्षबारे जानकारी गराउँदै यसप्रकारको सहयोगको लागि गाउँपालिकालाई धन्यवाद दिए । कार्यक्रममा महासंघका उपाध्यक्ष भरत शर्मा, सचिव यज्ञमूर्ति तिमिल्सिना, नवजनचेतना दैनिकका सम्पादक जगदीश भट्टराई, कार्यसमिति सदस्यहरु कृष्ण पोखरेल र अनिल लिगल सहित रिब्दीकोट गाउँपालिकाका विभिन्न जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थियो । गाउँपालिकाले महासंघका लागि सर्जिकल मास्क २ हजार ५ सय थान, ग्लोब्स २ हजार ५ सय थान, थर्मन गन १ थान, सेनेटाइजर २५ लिटर, अक्सिमिटर ३ थान, फेस शिल्ड ५० थान, डिजिटल थर्ममिटर ५० थान, वेट मेसिन २ थान र सेनेटाइजर डिस्पेन्सर १ थान उपलब्ध गराएको छ ।


त्यस्तै रम्भा गाउँपालिकाले पनि बिभिन्न स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराएको छ । स्वास्थ्यशाखा संयोजक शिवप्रसाद अर्यालले महासंघका कोषाध्यक्ष मुक्तिन्यौपानेलाई उक्त सामाग्री हस्तान्तरण गरेका छन् । रम्भा गाउँपालिकाले मास्क १ हजार थान, सेनेटाइजनर ५ लिटर, फेस शिल्ड १० थान, ग्लोब्स २ प्याकेट, थर्ममिटर १० थान र अक्सिमिटर १ थान उपलब्ध गराएको कोषाध्यक्ष न्यौपानेले बताए । महासंघले जिल्लामा कोरोना महामारीको अवस्था भयावह बन्दै गएकाले पत्रकारहरु पनि असुरक्षित हुन सक्ने भन्दै त्यस पूर्व तयारी थालेको छ । महासंघले आफ्नै भवनमा ५ वेडको आइसोलेसन कक्ष निर्माण गर्न लागेको महासंघका अध्यक्ष रेखीराम रानाले जानकारी दिए ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update