Shittalpati
कोरोना भाइरसबाट सतर्क रहन पाल्पा काँग्रेसको अपिल

पाल्पा, नेपाली काँग्रेस पाल्पाले कोभिड– १९ को जोखिम बढ्दै गएकाले सतर्क रहन अपिल गरेको छ । काँग्रेसले एक विज्ञप्ती जारी गर्दै जिल्लामा थप कोभिड क्रियाशील भई संक्रमित र मृत्युदरमा समेत वृद्धि भएकाले सर्तक रहन अपिल गरेको हो ।

नेपाली काँग्रेसका जिल्ला सभापति तथा लुम्बिनी प्रदेशका सांसद विरबहादुर रानाले विज्ञप्ती जारी गर्दै भारतको खुला सीमा नाकाका कारण मानिसको आवतजावत हुनुका साथै शहरी तथा ग्रामीण क्षेत्रमा मानिसको चहलपहल बढेकाले संक्रमणको उच्च जोखिम रहेको बताएका छन् । ‘प्राणघातक भाइरस कोरोनाले विश्वव्यापी रुपमै महामारीको खतराको घण्टी बजाइरहेका बेला मुलुकले सतर्कताको पर्याप्त पूर्वतयारी गर्न सकेन र जोखिमसँग जुध्न चुस्त बन्दोबस्त गरिएन भने त्यसले ठूलो मानवीय क्षति निम्त्याउने खतरा छ’, विज्ञप्तीमा भनिएको छ, ‘यस्तो विषम परिस्थितिका बेला सतर्कताका लागि काँग्रेस संघीय,प्रदेश, स्थानीय सरकार, सम्बन्धित निकायहरू एवं सबै राजनैतिक दल, संघसंस्था र समस्त नेपालीमा अपिल गर्दछ ।’ स्वास्थ्य मन्त्रालयले पाल्पालाई उच्च जोखिममा रहेको जिल्ला भनेर सूचित गरिसकेको स्थितिमा जोखिम सामना गर्न गम्भीर पहलकदमी चाल्न स्थानीय, प्रदेश र संघीय सरकारसँग काँग्रेस पाल्पाले आग्रह गरेको छ ।

‘स्थितीको संवेदनशीलता दृष्टिगत गरेर नागरिकलाई गम्भिर बन्न सरकारले अपिल गर्नु स्वभाविक हो । तर संकटमा अपिल गरिहँदा हतास र त्रास होइन विश्वास प्रवाह गर्नु जिम्मेवार सरकारको कर्तव्य हुन्छ । तर ‘अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भइ सकेको’ सार्वजनिक वक्तव्यले सरकारको लाचरी मात्रै होइन गैर जिम्मेवार प्रवृत्ति पनि पुष्टि गरेको छ’ सभापति रानाद्वारा जारी विज्ञप्तीमा भनिएको छ । संकटका बेला जनताको अभिभाकिय भूमिका निभाउनुपर्ने सरकारले अहिले आएर बेड छैन, भेन्टिलेटर, अक्सिजन, आदी पर्याप्त छैन भनेर निरिहता प्रस्तुत गर्नु इतिहासकै सबै भन्दा गैर जिम्मेवार अभिव्यक्ति र जनताको जीवनप्रति खेलवाड गरेको काँग्रेसले ठहर गरेको छ । लाचार अभिव्यक्ति बन्द गरेर युद्धस्तरमा कार्य गर्न र कोरोना विरुद्धको संघर्षमा राज्यको क्षमता विस्तार गर्न सरकारलाई काँग्रेसले अपिल समेत गरेको छ । काँग्रेसले जोखिम सामना गर्न कुनै पनि कमजोरी र सम्झौता नगर्न सरकारलाई सार्वजनिक आग्रह गर्दै नागरिकलाई सजक र सर्तक रही स्वास्थ्य मापदण्ड पालना गर्न अपिल गरेको छ । ‘विश्वका विकसित मुलुकहरु समेत कोरोना भाइरससँग सामना गर्न नसक्ने अवस्थामा रहेका बेला हामी तपाईको अप्ठ्यारो अवस्थालाई सम्बोधन गर्न घर आँगनमा आउन सकिरहेका छैनौ । तथापी नेपाली काँग्रेस पाल्पाको तर्फबाट जिल्लावासीहरुमा पर्ने कुनै पनि अप्ठ्यारो र समस्याको सम्बोधन गर्न हामी तयार छौं । जिल्लावासीको सच्चा अभिभावकत्व ग्रहण गर्दै आई परेको अवस्थामा जस्तो सुकै पस्थिती झेल्न पनि नेपाली काँग्रेस पाल्पा तयार छ’ विज्ञप्तीमा उल्लेख छ । महामारीमा एक जुट भई आ–आफ्नो तहबाट सहयोग र सहकार्य गर्न नेपाली काँग्रेसले नगर, क्षेत्रिय, गाउँ, वडा समिति, भातृ तथा शुभेच्छु संस्थाहरुलाई समेत आग्रह गरेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update