Shittalpati
बगनासकाली कुमालवस्तीका सयौं जनामा कोरोनाको लक्षण


पाल्पा, पछिल्लो समय जिल्लामा समुदायस्तरमै कोरोना संक्रमणको प्रकोप फैलिदै गएको छ । जिल्लाका ग्रामीण बस्तीस्तरमै कोरोनाको प्रकोप फैलिन थालेपछि स्थानीय चिन्तित बनेका छन् । जिल्लाको बगनासकाली गाउँपालिकाको एक सिङगो बस्तीमा कोरोनाको प्रकोप फैलिएको पाइएको छ । बगनासकाली गाउँपालिका २ गोफेकको कुमालवस्ती, चिर्तुङ्धाराको घोरवन्दा र आसपासका वस्तीहरुमा कोभिडको प्रकोप फैलिएको स्थानीयले बताएका छन् ।
उनीहरुका अनुसार गोफेक सहित आसपास क्षेत्रका सयौं जनामा कोरोनाका लक्षण देखिएको छ । विरामी भएकाहरुमा रुघा, खोकी, स्वाद थाहा नपाउने गरेको जानकारी आफुलाई प्राप्त भएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बताए । प्रकोप हुन सक्ने आशंकापछि त्यसतर्फ स्वास्थ्यकर्मीको टोली पठाईएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए ।
उनका अनुसार, गोफेकस्थित कुमाल गाउँका ६० भन्दा बढी घर परिवारका सदस्यहरुमा रुघा, खोकी, टाउको दुख्ने जस्ता कोभिडका लक्षण देखा परेको पाइएको छ । दुई दिन पहिला वडा नं.२ को गोफेक र वडा १ को घोरवन्दामा कोभिड परीक्षण गर्दा वडा २ का वडाअध्यक्ष समेत गरी दश जनामा पोजेटिभ देखिएको थियो ।
वडाका स्वास्थ्यचौकी प्रमुख सरोज काफ्लेका अनुसार दुई दिन पहिला गोफेकका स्थानीय केही कुमाल परिवारमा एन्टिजेन विधिबाट गरिएको परीक्षणका क्रममा ४ जनालाई संक्रमण देखिएको थियो । तर अहिले आएर ६०/७० घरका प्रत्येक परिवारका एक जनामा कोरोनाका लक्षण देखा परेको स्वास्थ्यचौकी प्रमख काफ्लले बताए । उनले भने ‘यहाँ अहिले आशंका गरिएका घर परिवारबाट नाम संकलन गरी परीक्षणको तयारी थालिएको छ ।’ गोफेकमा एक सय भन्दा बढी कुमालहरुको बसोवास रहेको र त्यहाँका अधिकांस वृद्धवृद्धा र बालबालिकाहरु रहेकाले संक्रमण उच्च हुने देखिएको छ । यि बस्तीहरुमा कोरोनाका लक्षण सहित स्थानीयहरु विरामी परेको खबर भर्खरै प्राप्त भएकाले गाउँपालिकाको स्वास्थ्यकर्मीहरुको टोली त्यसतर्फ पठाइएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले जानकारी दिए।

 

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update