Shittalpati
कोरोनाको ‘हटस्पट’ बन्यो पाल्पा, एकै दिन ९३ संक्रमित थपिए

रामचन्द्र रायमाझी
पाल्पा, पछिल्लो समय जिल्लामा कोरोना संक्रमण भुसको आगो सरह फैलिरहेको छ । केही सातायता औसतमा ५० भन्दा माथि संक्रमित थपिने क्रम जारी छ । सोमबार मात्रा पाल्पामा ९३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ९७ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै ४८ एन्टिजेन परीक्षणमा २० जनामा संक्रमण देखिएको छ ।

पिसिआर विधिबाट परीक्षण गर्दा तानसेनका ४८ जना सहित ७३ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार माथागढीका ३, रामपुरका २, पूर्वखोलाका ५, रैनादेवी छहराका १, रम्भाका १, बगनासकालीका ५, तिनाउका २, रिब्दीकोटका ४, निस्दीका २ जना गरी ७३ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै एन्टिजेन परीक्षणमा माथागढीका १, रम्भाका २, बगनासकालीका ४, निस्दीका ५ र तानसेनका ८ जना गरी २० जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा उल्लेख छ । योसँगै जिल्लामा कोरोना संक्रमण हुनेहरुको कूल संख्या २ हजार ४ सय ८४ पुगेको छ । जसमा ७ सय ४९ जना महिला र एक हजार ७ सय ३५ जना पुरुष रहेका छन् ।

जिल्लामा दिनहुँ संक्रमणको दर तीव्र गतिमा वृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २२ जिल्ला सहित पाल्पालाई यस अघि नै संक्रमणको उच्च जोखिमको सूचीमा राखेको छ । १० स्थानीय तहमध्ये तानसेन नगरपालिका, रैनादेवी छहरा गाउँपालिका, माथागढी गाउँपालिका,रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिका, बगनासकाली गाउँपालिका र निस्दी गाउँपालिका बढी प्रभावित देखिएका छन् । अन्य तहमा पनि कोरोना भने फैलिएकै अवस्था छ । स्थानीय सरकार र नागरिक दुवैका कमजोरीले जिल्लामा संक्रमणको उच्च जोखिम रहेको सरोकारवालाहरु बताउँछन् ।

कोरोनाको पहिलो चरणको सुरुवातमा एक /दुई जनामा कोरोना संक्रमण देखिएपछि एकाएक आत्तिएको पाल्पा अहिले शान्त छ । दिनहुँ संक्रमित देखिँदा समेत पनि स्थानीय निकायले केही गरेका छैनन् । कुनै समय भने अताल्लिएर आफ्नो क्षेत्रमा शिल गर्दै आएका थिए । अहिले केही छैन । संक्रमित थपिने थपियोस् । मर्ने मरोस् । कसैलाई मतलब छैन । संक्रिय संक्रमित २ सय नाघेपछि स्थानीय प्रशासनले गत वैशाख १७ गते राती १२ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । त्यो बाहेक संक्रमण नियन्त्रणका उपायहरु भने अवलम्वन गरिएको छैन । यसअघि हटस्पट बन्ने खतरा भएका जिल्लाहरुमा संक्रमित घट्दै गइरहेका छन् । तर पाल्पामा भने बढ्दै गइरहेका छन् । संक्रमितको दैनिक विवरणलाई हेर्दा पनि यहाँको स्थिति भयावह हुन सक्ने निश्चित छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा २० जनाले कोरोना जितेका छन् । सोमबार विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ४ जना महिला र १६ जना पुरुषले कोरोना जितेका हुन् । जिल्ला स्वास्थ्य कार्यालयले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका ९ जना, रामपुर नगरपालिकाका १ जना, पूर्वखोला गाउँपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिकाका २÷२ जना,रैनादेवी छहरा गाउँपालिकाका ४ जना संक्रमितले कोरोना जितेको जनाइएको छ । योसँगै जिल्लाको कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या दुई हजार १७ पुगेको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ५ सय ८ पुगेको छ । अहिलेसम्म जिल्लामा ४ सय ७० जना होम आइसोलेसनमा रहेका छन् भने ३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

             पाल्पामा थप दुई कोरोना संक्रमितको मृत्यु

 पछिल्लो दुई दिनमा पाल्पामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । रम्भा गाउँपालिका–३, पिपलडाँडाका ७८ वर्षीय एक पुरुष र रामपुर नगरपालिका–१० गेझाका अर्को ७२ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ ।

रम्भाका ७८ वर्षीय पुरुषको आइतबार बेलुकी मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो भने मिसन अस्पतालबाट उपचार गरेर फर्किएका रामपुरका ७२ वर्षीय पुरुषको सोमबार विहान होम आइसोलेशनमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । उच्च रक्तचाप रोगले ग्रसित रहेका ती पुरुषलाई यही वैशाख ३ गते उपचारका लागि युनाइटेड मिसन अस्पताल तानसेन ल्याइएको थियो । वैशाख ८ गते एन्टिजिन रिपोर्ट पोजेटिभ आएपछि उपचाररत ती पुरुषलाई १३ गते मिसन अस्पतालबाट डिस्चार्ज गरिएको थियो । मृतकको घर नजिकैको कालीगण्डकीको दोभान झम्मखोलास्थित आँधिघाटमा परिवार, आफन्त र स्थानीयवासीको सहयोगमा शव व्यवस्थापन गरिएको छ , भने रम्भाका मृतकको शव राम्दी घाट लगेर व्यवस्थापन गरिएको छ ।

तानसेनस्थित मिसन अस्पतालमा उपचाररत दुवै पुरुषको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या योसँगै ४२ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  २०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update