Shittalpati
पाल्पामा थप दुई संक्रमितको मृत्यु

पाल्पा, पछिल्लो दुई दिनमा पाल्पामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । रम्भा गाउँपालिका–३, पिपलडाँडाका ७८ वर्षीय एक पुरुष र रामपुर नगरपालिका–१० गेझाका अर्को ७२ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ ।

रम्भाका ७८ वर्षीय पुरुषको आइतबार बेलुकी मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो भने मिसन अस्पतालबाट उपचार गरेर फर्किएका रामपुरका ७२ वर्षीय पुरुषको सोमबार बिहान होम आइसोलेशनमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । उच्च रक्तचाप रोगले ग्रसित रहेका ती पुरुषलाई यही वैशाख ३ गते उपचारका लागि युनाइटेड मिसन अस्पताल तानसेन ल्याइएको थियो । वैशाख ८ गते एन्टिजिन रिपोर्ट पोजेटिभ आएपछि उपचाररत ती पुरुषलाई १३ गते मिसन अस्पतालबाट डिस्चार्ज गरिएको थियो । मृतकको घर नजिकैको कालीगण्डकीको दोभान झम्मखोलास्थित आँधिघाटमा परिवार, आफन्त र स्थानीयवासीको सहयोगमा शव व्यवस्थापन गरिएको छ , भने रम्भाका मृतकको शव राम्दी घाट लगेर व्यवस्थापन गरिएको छ ।

तानसेनस्थित मिसन अस्पतालमा उपचाररत दुवै पुरुषको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या योसँगै ४२ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update