Shittalpati
प्रेस स्वतन्त्रता दिवसको सन्दर्भ

आज विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाउन लागिएको छ । हरेक वर्ष ३ मेलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिन्छ । युनेस्कोले सन् १९९३ देखि हरेक वर्ष पत्रकार, नागरिक समाज, पत्रकारितासम्बन्धी शैक्षिक संस्थालगायत सरोकारवालाको सहभागितामा प्रेस स्वतन्त्रताका क्षेत्रमा रहेका समस्या र चुनौतीका सवालमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । नेपालमा यस वर्ष कोरोनाको प्रभावका कारण भौतिकरुपमा प्रत्यक्ष सहभागी भई खुल्ला कार्यक्रम आयोजना गर्ने अवस्था भने छैन ।


गत वर्ष पनि कोरोना कै कारण खुल्ला रुपमा कार्यक्रम हुन सकेको थिएन् । त्यति बेला नेपालमा प्रेस स्वतन्त्रताका सवालमा डिजिटल संवाद, छलफल तथा सञ्चारमाध्यममा सामग्री प्रकाशन/प्रसारणमार्फत् विविध कार्यक्रमको आयोजना गरी दिवस मनाइएको थियो । यस वर्ष पनि त्यसैलाई निरन्तरता दिइने बताइएको छ । नेपालमा २०४६ साल पछिको संविधानले संवैधानिक रुपमै प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्दै आएको छ । प्रजातन्त्र पुर्नस्थापना पछि प्रेस हुर्कनको लागि खुकुलो वातावरण पाए पनि माओवादी द्वन्द्वकालमा सबैभन्दा सास्ती खेप्नुपर्‍यो । समाचार लेखिएकै भरमा राज्य र तत्कालिन विद्रोही पक्षको चेपुमा थियो प्रेस जगत । यद्यपी पछिल्लो समय स्वतन्त्रताको केही अनुभूति भएपनि पूर्ण सार्थकता भने पाउन सकेको छैन । २०७२ मा जारी संविधानले पनि प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरे पनि प्रेस स्वतन्त्र हुन सकेको छैन । २०७७ साल प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सवालमा सुरक्षित बन्न सकेन । पत्रकार सरकारबाटै असुरक्षित बन्न पुगे । समाचार लेखेकै कारण पत्रकारमाथि फौजदारी कसुरमा मुद्दा चलाइयो । अनलाइनमा समाचार लेखेको तथा फेसबुकमा समाचार सेयर गरेकै भरमा पत्रकार पक्राउ परे । सञ्चार माध्यममा प्रकाशित/प्रशारित समाचारका आधारमा अनुगमन तथा नियमन गर्ने छुट्टै निकाय प्रेस काउन्सिल हुँदाहुँदै त्यसलाई लत्याएर साइबर अपराधको तरबार पत्रकारमाथि देखाइनु आफैँमा राम्रो होइन । संविधानको प्रस्तावनामै प्रेस स्वतन्त्रतालई संविधानको मूलमन्त्र मानिएको हुँदा कम्तीमा त्यसको मर्म बुझिनु पर्ने हो तर त्यसो हुन सकेको छैन् । समाजका अपराधिक र भ्रष्ट असामाजिक तत्वबाट पत्रकारमाथि आक्रमण भइरहेको र गैरराज्य पक्षको आक्रमण निरुत्साहित गर्न राज्य संयन्त्र संवेदनशील हुनुपर्नेमा राज्यकै संयन्त्र प्रेसविरुद्ध देखिनुले पे्रस स्वतन्त्रताको हनन् भएको ठहर छ । लोकतन्त्रतको आधारभूत तत्व प्रेस स्वतन्त्रता जनताको सुसूचित हुने अधिकारसँग जोडिएको मौलिक हक हो । प्रेस सरकारका खराब प्रवृत्तिलाई सच्याउने तथा समाजका सकारात्मक–नकारात्मक गतिविधिलाई उजागर गर्ने सशक्त माध्यम हो । त्यसैले प्रेस तथा सञ्चारकर्मीको सुरक्षामा सरकारसमेत चनाखो हुनुपर्ने छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update