Shittalpati
श्रमिक दिवसको सार्थकता

अन्तर्राष्ट्रिय श्रमिक दिवस आज देशभर मनाइदै छ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम’, ‘आठ घण्टा मनोरञ्जन’ र ‘आठ घण्टा आराम’ भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर सन् १८९० देखि हरेक वर्ष मे १ तारिखमा यो दिवस मनाउने गरिएको हो । नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलन सँगै यो दिवस मनाइन थालिएको पाइन्छ । संविधानको धारा ३३ ले श्रमिकको हकलाई मौलिक हकको रूपमा रोजगारी सम्बन्धी हकको व्यवस्था गरेको छ ।
यसै गरी धारा ३४ ले श्रमको हकलाई मौलिक हकको रूपमा व्यवस्था गरेको छ । प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकको समेत व्यवस्था गरेको छ । श्रमिकका साझा हक अधिकारका लागि कानुनबमोजिम ट्रेड युनियन खोल्ने श्रम संगठनमा आवद्ध हुन पाउने र सामूहिक सौदा बाजी गर्न पाउने हक प्रदान गरेको छ । तर अहिलेसम्म पनि श्रमिकहरुले उचित पारिश्रमिक भने पाउन सकिरहेका छैन् । यो अत्यन्त दुखको कुरा हो । आजको दिन विश्वका मजदुरहरुको यो महान् चाड हो । विश्व मजदुर आन्दोलनले विश्वमा ठूलो उपलब्धि हासिल गरेको छ । मजदुर अधिकारको क्षेत्रमा निकै क्रान्ति आएको छ । तर अझै पनि नेपाललगायत कतिपय देशमा मजदुरको अवस्था नाजुक छ । यो अत्यन्त दुखको कुरा हो । नीतिगत रुपमा केही राम्रो देखिए पनि कार्यान्वयन तहमा मजदुरहरु चर्को शोषणमा बाच्न बाध्य छन् । नेपालको सन्दर्भमा एकातिर श्रमको कुनै मूल्य नै छैन भने अर्कोतिर न्यूनतम पारिश्रमिक निर्धारण भए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । मुलुक महाव्याधिसँग लडिरहेको परिप्रेक्ष्यमा श्रमिक दिवसका सभा समारोहहरू आयोजना हुन सक्ने देखिदैन । कोरोना विरुद्ध सकसका साथ लडिरहेका मजदुरहरूको अवस्थाप्रति राज्य संवेदनशील बन्न जरुरी छ । मध्यम वर्गले जति सहजताका साथ कोरोना कहर व्यथित गरेका छन् श्रमिकहरूका लागि त्यो अत्यन्त कष्टप्रद छ । तीनै तहका सरकारहरुले अब देशभित्रै रोजगारीको अवस्था सिर्जना गरेर श्रमिकहरुको पेसागत र सामाजिक सुरक्षा सुनिश्चित गर्न सके मात्र अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउनुको सार्थकता रहन सक्छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update