Shittalpati
पाल्पा अस्पतालको सेवा थप प्रभावकारी बनाइने

पाल्पा, पाल्पा अस्पतालको सेवा थप प्रभावकारी बनाइने भएको छ । विरामीहरुको चाप बढ्दै गएपछि अस्पतालको सेवालाई थप प्रभावकारी बनाइने भएको अस्पतालले जनाएको छ । प्रयोगशाला र अस्पतालका गतिविधीका विषयमा जानाकारी गराउने उद्देश्यले बुधबार तानसेनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेले अस्पतालको सेवालाई गुणस्तरी र थप प्रभावकारी बनाउन लागिएको बताएका छन् । उनले कोरोना महामारी फैलिएकाले विरामीहरुको चाप बढ्दै जान सक्ने भन्दै अक्सिजनयुक्त शैया थप गर्न लागिएको बताए । अध्यक्ष पाण्डेले भने ‘अस्पतालमा अहिले ४ वटा आइसोलेसन शैया मात्र रहेको र यतिले मात्र नपुग्ने अवस्था रहेकाले अबको केही दिनमै थप १५ शैया निर्माण गरिने छ ।’ ‘जनतालाई सर्वसुलभ र सरल तरिकाले सेवा दिने गरी स्थापना भएको सरकारी अस्पताल हो,’ पाण्डेले भने । यहाँबाट पाइने कुनैपनि उपचारमा कमी हुन नदिने उनले बताए ।

अध्यक्ष पाण्डेले पाल्पा अस्पतालद्धारा सञ्चालित कोभिड प्रयोगशाला सञ्चालनका लागि आर्थिक व्यवस्थापनमा कठिनाई भएको बताए । प्रयोगशालाका लागि आवश्यक सामग्री संघीय सरकारले सहयोग गरेको र त्यसपछिका समयमा प्रयोगशाला सञ्चालनका लागि स्थानीय सरकारका प्रमुखहरुले गरेको प्रतिबद्धता अनुरुप पनि आर्थिक सहयोग नगरेका कारण दिनानु दिन महामारी सँगै आर्थिक भार थपिएको उनको भनाई छ । जिल्लामा प्रयोगशाला नहुँदा अन्यत्र स्वाब परीक्षणका लागि पठाउन पर्ने अवस्था थियो । त्यस्तो अवस्थामा प्रयोगशाला स्थापना गरियो । यसको व्यवस्थापन र सञ्चालनका लागि जिल्लाका सबै स्थानीय तहले दश÷दश लाख रुपैयाँ सहयोग गर्ने सहमति जनाए पनि केहीले नदिएको अध्यक्ष पाण्डेले बताए । अक्सिजनयुक्त शैया निर्माणको लागि स्टिमेट तयार गर्ने काम सम्पन्न भएको अस्पतालका प्रमुख डाक्टर जगदीश कुँवरले बताए । उनका अनुसार अबको एक हप्तामा शैया तयार हुने छ ।

आजदेखि अस्पतालको ओपिडी सेवा बन्द हुने डाक्टर कुँवरले बताए । उनका अनुसार कोरोना महामारी फैलिएपछि यसको नियन्त्रण गर्न ओपिडी सेवा बन्द गर्नु परेको जानकारी दिए । आकस्मिक सेवा भने चौवीसै घण्टा सुचारु रहने छ । स्वास्थ्य बीमा भएका बिरामीले यहाँबाट अब रेफर लेटर लिनुपर्ने छैन् । सिधै सम्बन्धित अस्पतालमा पुगेर उपचार सेवा लिन सकिने उनले बताए ।

प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update