Shittalpati
पाल्पामा तानसेनका ३१ जना सहित थप ४१ जनामा कोरोना पुष्टि

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा १६ जना महिला र २५ जना पुरुष गरी थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

७८ जनामा पिसिआर परीक्षण गरिएकोमा ४१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिका तथा आसपास क्षेत्रका अस्पतालमा ३१ जना, माथागढी गाउँपालिकामा २ जना, रामपुर नगरपालिकामा १ जना, रम्भा गाउँपालिकामा १ जना, बगनासकाली गाउँपालिकामा २ जना, तिनाउ गाउँपालिकामा १ जना, रिब्दीकोट गाउँपालिकामा २ जना र निस्दी गाउँपालिकाका १ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै जिल्लामा कोरोना संक्रमण हुनेहरुको कूल संख्या २ हजार २ सय २० पुगेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । जसमा ६ सय ४९ जना महिला र एक हजार ५ सय ७१ जना पुरुष रहेका छन् ।

जिल्लामा निको हुनेहरुको संख्या १ हजार ९ सय ८३ पुगेको छ । कोरोनाका कारण अहिलेसम्म ३९ जनाको मृत्यु भएको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या १ सय ९८ पुगेको छ । अहिलेसम्म जिल्लामा १ सय ८२ जना होम आइसोलेसनमा रहेका छन् भने १६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update