Shittalpati
विदेशबाट आउनेहरु १४ दिन अनिवार्य क्वारेन्टिनमा

पाल्पा,  अब विदेशबाट आउनेले १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । बगनासकाली गाउँपालिकाको सोमबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । छिमेकी देश भारत तथा तेस्रो मुलुकमा कोरोना संक्रमण दर बढ्दै गएपछि अब हवाई र स्थलमार्गबाट गाउँपालिका आउनेलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्ने निर्णय भएको गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताए । यसअघि पनि विदेशबाट आउनेलाई १४ दिन क्वारेन्टिनमा राख्ने गरिए पनि पछिल्लो समय यसको कार्यान्वयन भएको थिएन् । आफु बसेकै घर घरमै गएर कोरोनाको नमुना संकलन गरी परीक्षण गर्ने व्यवस्था मिलाइएको गाउँपालिकाका प्रवक्ता लक्ष्मी अधिकारीका बताए । त्यसैगरी गाउँपालिकाले तत्कालै १५ शैयाको कोरोना अस्पताल निर्माण गर्ने र त्यसका लागि ५० सिलिण्डर अक्सिजन खरिद गर्ने पनि निर्णय गरेको छ ।

बैठकले अस्पतालमा बेड नपाएर होम आइसोलेसनमा बसेका संक्रमितहरुको लागि आवश्यक परेमा घरमै अक्सिजन पुर्‍याउने व्यवस्था गर्ने सम्मको निर्णय गरेको छ । त्यसैगरी घरमा आइसोलेसनमा बसेका संक्रमितहरुको लागि औषधी उपचारको किट घरघरमै उपलब्ध गराउने र आर्थिक विपन्नहरुलाई कोरोना अस्पतालमा लागेको खर्च समेत गाउँपालिकाले नै व्यहोर्ने पनि जनाइएको छ । गाउँपालिका भित्र कुनै पनि विवाह, भोज, भतेर जस्ता सामाजिक र साँस्कृतिक क्रियाकलाप नगर्न समेत अनुरोध गरिएको छ । यस्तै गाउँपालिकाले कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएपछि मंगलबारदेखि विद्यालय केही समयका लागि बन्द गर्ने समेत निर्णय गरेको छ । गाउँपालिकाका उपाध्यक्ष सरस्वती चिदीको अध्यक्षतामा बसेको बैठकले कोरोना महामारी नियन्त्रणको लागि आजदेखी गाउँपालिका भित्रका सबै शैक्षिकसंस्थाहरु बैशाख २० गते सम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update