Shittalpati
पाल्पामा थप २६ जनामा कोरोना पुष्टि

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा ७ जना महिला र १९ जना पुरुष गरी थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

६७ जनामा पिसिआर परीक्षण गरिएकोमा २६ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिका तथा आसपास क्षेत्रका अस्पतालमा १५ जना, माथागढी गाउँपालिकामा २ जना, पूर्वखोला गाउँपालिकामा १ जना, रेनादेवी छहरा गाउँपालिकामा ३ जना, बगनासकाली गाउँपालिकामा १ जना, तिनाउ गाउँपालिकामा २ जना, रिब्दीकोट गाउँपालिकामा २ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै जिल्लामा कोरोना संक्रमण हुनेहरुको कूल संख्या २ हजार १ सय ८६ पुगेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । जसमा ६ सय ३४ जना महिला र एक हजार ५ सय ५२ जना पुरुष रहेका छन् ।

जिल्लामा निको हुनेहरुको संख्या १ हजार ९ सय ८३ पुगेको छ । कोरोनाका कारण अहिलेसम्म ३९ जनाको मृत्यु भएको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या १ सय ६४ पुगेको छ । जिल्लामा अहिलेसम्म १ हजार ३ सय १२ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म जिल्लामा १ सय ५३ जना होम आइसोलेसनमा रहेका छन् भने ९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update