Shittalpati
पुस्तक र प्रतिलिपि अधिकार दिवस

विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईँदै छ । सन् १९९५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसंघीय शैक्षिक तथा साँस्कृतिक संगठन युनेस्काको महासभाले अप्रिल २३ को दिनलाई विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसको रुपमा मनाउने घोषणा गरेको थियो । सोही अनुसार हरेक वर्ष यो दिव मनाउने गरिएको छ । आज पुस्तक लेख्नेहरुको उत्सव तथा पुस्तक पढ्नेहरुको उत्सवको दिन पनि हो । विश्व पुस्तक दिवस कार्यक्रमको अपनत्व युनेस्कोले लिँदै आएको छ । विशेष गरी युवा पुस्तामा पढ्ने बानीको विकास गर्न पुस्तक दिवस मनाइन लागिएको हो । लेखन तथा प्रकाशन क्षेत्रमा प्रतिलिपि अधिकार ठूलो मुद्दा भएकाले आजको दिनलाई विश्व पुस्तक दिवस तथा प्रतिलिपि अधिकार दिवसका रुपमा लिइएको हो । पुस्तक दिवसको प्रचलन स्पेनबाट सुरु भएको हो ।

अप्रिल २३ का दिन स्पेनमा ‘गुलाब दिवस’ मनाइन्थ्यो । यालेन्टाइन दिवसका दिन जस्तै एक अर्का गुलाब साटासाट गरेर एक अर्काप्रति माया र सद्भाव साट्ने गर्थे । तर सन् १९२६ मा स्पेनिस लेखक मिगेल डि सेर्भेन्टासको स्मृति दिवस पारेर गुलाबको साटो स्पेनी नागरिकहरुले पुस्तक आदान–प्रदान गर्न थालेका थिए । स्पेनमा सन् १९२६ बाटै पुस्तक दिवस जस्तै गरी विशेष कार्यक्रम मनाइन्थ्यो । त्यसैबाट विश्व पुस्तक दिवस मनाउने अवधारणा आएको थियो । विश्व पुस्तक दिवसका दिन विश्वभर नै विभिन्न साहित्यिक उत्सव तथा समारोहहरु मनाइन्छ । नेपालमा पनि पछिल्ला केही वर्ष यता विभिन्न कार्यक्रम गरेर पुस्तक दिवस मनाइने गरिन्छ । पुस्तक दिवसकै अवसर पारेर साथीसंगीबीच पुस्तक उपहार दिने चलन पनि नेपालमा बढ्दै गएको छ । यो आफैमा राम्रो पक्ष हो । सञ्चार क्षेत्रको फैलावट बढेसँगै लेखनका बारेमा हुने विभिन्न चर्चा परिचर्चा र बौद्धिक फोरमहरुले समेत पुस्तक पारखीलाई पुस्तकप्रति आकर्षित गर्ने गरेका छन् । नेपालमा दिनहुँ नयाँ नयाँ पुस्तक छापिनै रहेका हुन्छन् । तर तीनको गुणस्तर कम र लक्षित वर्ग स्पष्ट नभएका कारण पनि ती बहसमा अटाउँदैन । लेखकले नाम कमाउन मात्र लेख्ने प्रवृति पछिल्लो समय बढेको छ । गुणस्तरीय लेखनीमा जोड दिन पाठक र बौद्धिक वर्गले लेखकलाई दबाव दिन सक्ने समय पनि हो आज । त्यसैले दिवसलाई दिवसकै रुपमा मनाउने भन्दा पनि गहन अध्ययन र हरेक दिनका बहस र विचारहरुले महत्व राख्छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update