Shittalpati
पाल्पामा कोरोना बढ्दो, विहीबार मात्र थप ३० जनामा संक्रमण पुष्टि

 

पाल्पा, पछिल्लो समय जिल्लामा कोरोना संक्रमण दर दिनप्रतिदिन बढ्दै गएको छ । विहीबार मात्र जिल्लामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेनका १० जना सहित थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २२ जना पुरुष र ८ जना महिला गरी ३० जनामा कोरोना पुष्टि भएको छ । ६१ जनाको पिसिआर परीक्षण गरिएकोमा ३० जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना पुष्टि हुनेहरुमा तानसेन नगरपालिका तथा अस्पतालका १० जना, माथागढी गाउँपालिकामा ११ जना, पूर्वखोला गाउँपालिकाका १ जना, रैनादेवी छहरा गाउँपालिकाका ४, बगनासकाली गाउँपालिकाका २ जना,रिब्दीकोट गाउँपालिकाका १ जना र निस्दी गाउँपालिका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कोरोना संक्रमितको कूल संख्या २ हजार १ सय २९ पुगेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । जसमा ६ सय १४ जना महिला र एक हजार ५ सय १५ जना पुरुष रहेका छन् ।

जिल्लामा निको हुनेहरुको संख्या १ हजार ९ सय ६९ पुगेको छ । कोरोनाका कारण अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या १ सय २२ पुगेको छ । जिल्लामा अहिलेसम्म १ हजार २ सय ७१ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म जिल्लामा २२ जना होम आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  १९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update