Shittalpati
मिसावट र स्वास्थ्य सजगता

सामान्यतया हामी एउटा खानेकुरामा अर्को कुनै वस्तु मिसाउनुलाई खाद्य मिसावटका रूपमा बुझ्ने गर्दछौं । कुनै पदार्थ लेबलमा लेखिएको वा नेपाल सरकारले तोकेको अधिकतम सीमाभन्दा बढी वा न्यूनतम सीमाभन्दा कम रहेको, जसको पूरै वा कुनै भागमा फोहोर, कुहिएको, सडेको, दुर्गन्धित भएको जनावर वा वनस्पतिको भाग रहेको वा कीराबाट संक्रमित वा अन्य प्रकारले मानव उपभोगको लागि अनुपयुक्त रहेको, अस्वस्थकर अवस्थामा प्रशोधन, प्याकेज, भण्डारण र वितरण गरिएको खाद्यलाई मिसावटयुक्त भन्ने पनि गरिन्छ ।

अहिले प्रायः सबै दैनिक उपभोग्य खाद्य पदार्थमा मिसावट हुने गरेका कारण हामी सबैको स्वास्थ्यमा गम्भीर असर परेको छ । मूल्य तिरेर खरिद गरिएका दैनिक उपभोग्य वस्तुहरुमा भएको मिसावटका कारण हामी हाम्रो शरीरलाई अस्वस्थ बनाउन बाध्य भइरहेका छौँ । धेरै मुनाफा गर्नका लागि, व्यावसायिक लापरवाही र हेलचेक्र्याइँ तथा कमजोर कानुन कार्यान्वयनको अवस्थाका कारण खाद्य वस्तुको गुण लोप हुने, गुण घट्ने चिजहरु तथा अखाद्य वस्तुहरु मिसावट हुने गरेको छ । मिसावट कर्ताले हाम्रो नाङ्गो आँखाले हेर्दा थाहा नहुने अखाद्य वस्तुहरुलाई खाद्य वस्तुमा चलाखी पूर्वक मिसाई बजारमा आकर्षक विज्ञापनका साथ ल्याउने गरेकोले हामी झनै मारमा परेका छौँ । मिसावटबाट बच्न हामी आफैँ सचेत हुनु जरूरी छ । मूल्य तिरेर खरिद गरेको चीजको गुणस्तर बुझ्नका लागि जबसम्म हामी उपभोक्ता नै सचेत हुदैनौँ र मिसावट तथा कमस्तरको खाद्य पदार्थका लागि तत्कालै प्रतिवाद गर्दैनौँ तबसम्म नाफाखोरहरुले यसरी नै हाम्रो स्वास्थ्यमाथि खेलबाड गरिरहन्छन् । हामीलाई लुटिनै रहन्छन् र हामी पैसा तिरेर मरिरहन्छौँ । तसर्थ, खाद्य सामग्री खरिद गर्दा प्याकेटको बाहिर रहेको लेबल उज्यालोमा हेरेर उद्योगको नाम, उत्पादन मिति, ब्याच नम्बर, तौल, प्रयोग गरिसक्ने अन्तिम मिति आदि हेरेर ठीक भएमा मात्र खरिद गर्ने बानी बसाल्नुपर्छ । जसले गर्दा हामीलाई स्वस्थ जीवन जिउन मद्दत गर्दछ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update