Shittalpati
पाल्पामा कोरोना नियन्त्रणका लागि कडाइ, १३ बुँदे नयाँ मापदण्ड जारी

पाल्पा, जिल्लामा कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण बढ्दै गएपछि नियन्त्रणका लागि थप कडाइका मापदण्डहरु जारी गरिएको छ । जिल्लाको कोरोना संकट व्यवस्थापन समितिले संक्रमणको दर बढ्दै गएकाले पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गर्न थप कडाइका मापदण्डहरु जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले १३ बुँदे नयाँ मापदण्ड जारी गर्दै यसको पालना गर्न सबैलाई अनुरोध गरेको छ । जिल्लामा रहेका सिनेमा हल, पाटी प्यालेस, जिम खाना, सभा आम सभा, जुलुस हाटबजार, खेलकूद जस्ता मानिहरुको भिड भाड हुने क्षेत्र २०७८ वैशाख मसान्त सम्म बन्द गर्न डिसीसीएमसीले आग्रह गरेको छ । मेला, महोत्सव, जात्रा, पर्व, विवाह, न्यावारन, पास्नी, व्रतवन्धन, धार्मिक अनुष्ठा, मलामी लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु सञ्चालन गर्दा २५ जना भन्दा बढी सहभागी गराउन नपाइने बताईएको छ । यसबाहेक सार्वजनिक यातायातमा बिना मास्क नचढ्न र नचढाउन, सहचालकलाई १० रुपैयाँमा मास्क बेच्न दिन, लामो दुरीका सार्वजनिक यातायातमा बीचमा यात्रु नथप्न, गाडीको ढोकामै स्यानिटाइजर राख्न, चालक र सहचालकले अनिवार्य मास्क लगाउन, कार्यालयहरुमा सुरक्षाका मापदण्ड एवं स्यानिटाइजरको प्रयोग गर्न लगायतका अनुरोध जिल्ला प्रशासन कार्यालयले गरेको छ । होटल तथा रेष्टुरेण्डहरु विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्नु पर्ने, सो समय पश्चात टेक अबे र होमडेरीभरी मात्र गर्न पाईने छ । नेपाल सरकारले तोकेका जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने, अवज्ञ गर्ने वा कोभिड १९ नियन्त्रण कार्यमा बाधा पुर्‍याउने व्यक्ति वा संस्थालाई संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बैठकमा प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले कोरोनाको संक्रमण बढ्दै गएकाले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अपिल समेत गरेका छन् । उनले भारतमा कोरोना संक्रमण तीव्र गतिमा बढेको र त्यसको प्रत्यक्ष असर पाल्पा जिल्लामा समेत देखिएको बताए । पाल्पामा केही दिनअघि कोरोना संक्रमण दर १२ प्रतिशत रहेकोमा बढेर २० प्रतिशत हुँदै ५० प्रतिशत पुगेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update