Shittalpati
आजदेखि देशभर कोरोनाविरुद्धको दोस्रो डोज लगाइँदै

पाल्पा, सरकारले आजबाट कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु गर्दै छ । खोप अभियान सुरु भएपछि पहिलो डोज लगाएकाहरुलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज दिन लागिएको हो । कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ४ लाख ३९ हजार जनालाई दोस्रो मात्रा दिइने छ । पहिलो डोज जुन कम्पनीको खोप लगाएको हो, दोस्रो डोज पनि त्यही खोप लगाउनु पर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले २०७७ साल माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो । माघ १४ देखि फागुन १० गतेसम्म पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा पहिलो मात्रा खोप लगाइएको थियो । पाल्पा स्वास्थ्य कार्यालयका अनुसार ३ हजार ९ सय ७४ जनाले पहिलो खोप लगाएको जनाएको छ । स्वास्थ्य कार्यालयले कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउने तालिका नै सार्वजनिक गरेको छ ।

वैशाख ७ गते पत्रकार, जनपथ प्रहरी, ट्राफिक प्रहरीलाई दोस्रो डोज दिइने छ । यसैगरी वैशाख ८ गते प्राधिकरण र संस्थानका कर्मचारी, स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि, जेलमा रहेका कैदी तथा सुरक्षाकर्मी, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, वैशाख ९ गते बोडरमा खटिएका सशस्त्र प्रहरी, निजामती कर्मचारी, वैशाख १० गते स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाका अन्य कर्मचारी, महिला स्वास्थ्य संयमसेवीका, पालिकाका सरसफाईकर्मी, वैशाख ११ गते वृद्धाश्रमका आश्रित तथा हेरालु, बैंक तथा वित्तिय संस्थाका कर्मचारी, न्याय सेवा समूहका कर्मचारी लगायतलाई दोस्रो डोजको खोप लगाईने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यो पाल्पा अस्पतालको खोप केन्द्रका लागि लागु हुने छ । खोप लगाउन जाँदा खोपकार्ड र आफ्नो परिचयपत्र पनि साथमा राख्नुपर्ने स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update