Shittalpati
कुष्ठरोग नियन्त्रणमा चुनौती

नेपालमा कुष्ठरोग नियन्त्रणमा चुनौती बन्दै गएको छ । यहाँ जनस्वास्थ्यको समस्याका रूपमा छैन भनेर एक दशकअघि नै घोषणा गरिए पनि १७ जिल्लाबाट अझै यो रोग हट्न सकेको छैन । उदयपुर, रुपन्देही, महोत्तरी, बर्दिया, रौतहट, मोरङ, नवलपरासी पश्चिम, सिरहा, कपिलवस्तु, अछाम, कैलाली, झापा, सर्लाही, पर्सा, बाँके, बारा र धनुषामा कुष्ठरोग जनस्वास्थ्यको समस्याका रूपमा छ ।
रोग निवारणमा सरकारले प्राथमिकता नदिँदा संसारकै सबैभन्दा पुरानो मानिएको यो रोगका बिरामी घट्नुको साटो बढिरहेका छन् । यो अत्यन्त दःुखको कुरा हो । नेपाल सरकारले सन् २०२० सम्ममा कुष्ठरोगलाई पूर्णरुपमा निवारण गर्ने उद्देश्य लियो, तर त्यसप्रतिको संवेदनशीलता र गम्भीरता पर्याप्त मात्रामा नभएको कारण त्यो उद्देश्य अझैसम्म पूरा हुन सकेको छैन । विशेष गरी तराईका जिल्लामा बर्सेनि तीन हजार बढी कुष्ठरोगीहरु भेटिने गरेको अवस्थाले यो रोगको डरलाग्दो अवस्थालाई थप पुष्टि गरेको छ । कुष्ठरोग पनि अरु रोगजस्तै जनस्वास्थ्यको प्रमुख समस्याका रुपमा यथावत् छ, तर त्यसप्रतिको चासो र सरोकारमा भने निकै कमी आइरहेको छ । बिरामीमाथि हुने सामाजिक भेदभावका कारण पनि रोग नियन्त्रण चुनौतीपूर्ण हुँदै गएको छ। बिरामीले छोएको नखाने, छिछिः दुरदुर गर्ने र बिरामी घरबाटै निकाल्ने प्रवृत्ति हट्न सकेको छैन । समाजले अपहेलना गर्ने डरका कारण पनि बिरामीले रोग लुकाएर बस्ने गरेका छन् । कुष्ठरोग देखिनासाथ औषधि सेवन नगरेकै कारण पनि धेरै व्यक्ति अपाङ्ग भइसकेको तथ्याङ्क छ । देशमा रहेको कुल अपाङ्गताको दुई प्रतिशत कुष्ठरोगकै कारण हुने गरेको छ । हजारौँको संख्यामा कुष्ठरोगीहरु अझै पनि फेला परिरहनु अहिले ठूलो चिन्ताको विषय हो । सरकारले कुष्ठरोगको औषधोपचार र रोगका कारण हुने जटिलताको शल्यक्रिया निःशुल्क गर्ने व्यवस्था गरेको छ । बिरामी भने उपचारभन्दा झारफुकतिर लाग्ने र घरभित्रै लुक्ने गरेकाले पनि देशलाई रोगमुक्त बनाउन चुनौती थपिएको छ ।

प्रकाशित मिति: शनिबार, चैत २१, २०७७  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update