Shittalpati
घट्दो रेमिट्यान्स

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण वैदेशिक रोजगारीमा रहेका कामदारहरुले रोजगारी गुमाउँदै जाँदा विदेशबाट भित्रने रेमिट्यान्स पनि घट्दै गएको छ । कोभिड संक्रमणका कारण कामदार वैदेशिक रोजगारीमा जान पाएका छैनन् भने विदेशमा रोजगारीमै रहेका कामदारहरुले पनि पूर्ण समय काम पाउन सकेका छ्रैनन् । जसले गर्दा रेमिटान्स ओरालो लाग्नो क्रममा छ । यस आर्थिक वर्षको सात महिनामा रेमिट्यान्समार्फत करिब ५ खर्ब ७० अर्ब रूपैयाँ रेमिट्यान्सका रुपमा देशमा भित्रिएको देखिन्छ । तर,वार्षिक रुपमा रेमिट्यान्सको अनुपात बढ्दै गएको देखिए पनि पुस महिनाको अनुपातमा ८ प्रतिशतभन्दा बढीले माघमा रेमिट्यान्स घट्न पुगेको पछिल्लो तथ्याङ्कले देखाउन्छ ।


रेमिट्यान्स क्रमशः ऋणात्मकरुपमा ओरालो लाग्दै गएको तथ्याङ्कलाई आधार मान्ने हो भने त्यसले देशमा आर्थिक मन्दीलाई समेत निम्त्याउन सक्ने खतरा छ । रेमिट्यान्सकै भरमा देश जिउँदो रहेको भन्ने अवधारणा विद्यमान रहेको हालको अवस्थामा आगामी दिनमा त्यसमा सुधार नआउने स्थिति बन्यो भने देशको अर्थतन्त्रमा त्यसले पारेको प्रत्युपादक असर गम्भीर हुनेछ । विश्वभर करिब ६० लाखभन्दा बढी नेपालीहरु विदेशीमा रहेको तथ्याङ्क छ, तर हालको विषम परिस्थितिमा कयौं कामदारहरु स्वदेशमै रहेको अवस्थाले रेमिट्यान्स घट्दै गएको अनुमान गर्न सहजै सकिन्छ । कतिपय कामदारहरुको श्रम अनुमतिपत्रको म्याद सकिएपछि ती नफर्किएर यथास्थानमै बेरोजगार अवस्थामा रहेको स्थितिका कारण पनि रेमिट्यान्सलाई प्रभावित बनाइरहेको छ भन्दा अन्यथा हुँदैन । विदेशी मुद्राको ढुकुटी रित्तिन थाल्यो भने सरकारले आयातमा रोक लगाउन सक्छ जुन अचाक्ली महँगी बढाउने कारण बन्न सक्छ । एकातिर आम्दानी घटेको र अर्कातिर महँगी बढ्ने अवस्थाले जीवनस्तर झन् जटिल बन्ने र गरिबीको दर पुनः उकालो लाग्ने देखिन्छ । रेमिट्यान्सकै कारण गरिबी घटेको छ भने यसकै कारण फेरी गरिबी बढ्नु स्वाभाविक हुन्छ । यसर्थ अब क्रमशः रेमिट्यान्सको मात्रै भर नपरी स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना गर्दै जानुपर्छ र आर्थिक कारोबारहरुलाई पारदर्शीरुपमा बढवा दिन जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update