Shittalpati
पाल्पामा फेरी देखिन थाल्यो कोरोना, थप १२ जनामा संक्रमण

पाल्पा, पाल्पामा पुनः कोरोना संक्रमण देखिन थालेको छ । पल्छिलो केही समय जिल्लामा संक्रमण देखिएको थिएन । छिमेकी देशहरुमा संक्रमणको दर बढ्दै जान थालेपछि पाल्पामा पनि संक्रमण देखिन थालेकको हो ।

जिल्लामा केही समय अघि शून्य नजिक पुगेको कोरोना संक्रमणको दर पुन: बढ्न थालेको छ । बुधबार जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित अपटेडमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । फागुन २९ गतेदेखि चैत ११ गतेसम्म गरिएको परीक्षणमा ६ जना पुरुष र ६ जना महिला गरी १२ जनामा कोरोना पुष्टि भएको हो ।

एक सय ८३ जनाको पिसिआर परीक्षण गरिएकोमा १२ जनामा संक्रमण देखिएको छ । कोरोना पुष्टि हुनेहरुमा तानसेन नगरपालिका तथा अस्पतालका ८ जना, रैनादेवी छहरा गाउँपालिकाका १ जना, बगनासकाली गाउँपालिकाका २ जना र रिव्दीकोट गाउँपालिकाका १ जनामा देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै संक्रमितको संख्या १ हजार ९ सय ७३ पुगेको छ । जसमा ५ सय ६४ जना महिला र एक हजार ४ सय ९ जना पुरुष रहेका छन् । हालसम्म माथागढी गाउँपालिकामा एक सय एक जना, रामपुर नगरपालिकामा २ सय ६८ जना, पूर्वखोला गाउँपालिकामा २ सय ६५ जना, रैनादेवी छहरा गाउँपालिकामा एक सय ९ जना, रम्भा गाउँपालिकामा ९४ जना, बगनासकाली गाउँपालिकामा एक सय ५४ जना, तिनाउ गाउँपालिकामा ७५ जना, रिब्दीकोट गाउँपालिकामा ७७ जना, निस्दी गाउँपालिकामा एक सय १८ जना र तानसेन नगरपालिकामा ७ सय ८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै पछिल्लो ११ दिनमा १० जनाले कोरोना जितेर घर फर्किएका छन् । योसँगै जिल्लामा निको हुनेहरुको संख्या १ हजार ९ सय २६ पुगेको छ ।

अहिलेसम्म जिल्लामा १४ हजार ४ सय ७३ जनाको पिसीआर परीक्षण गरिएको छ । जसमा १२ हजार ५ सय जनामा नेगेटिभ र एक हजार ९ सय ७३ जनामा पोजेटिभ देखिएको छ । कोरोनाका कारण अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या १२ पुगेको छ । जिल्लामा अहिलेसम्म १ हजार १ सय ६१ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ८५ जना स्वास्थ्यकर्मी रहेका छन् ।

पछिल्ला दिनमा छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमण बढेसँगै नेपालमा पनि संक्रमण बढ्ने सम्भावना रहेको विज्ञहरुले औंल्याएका छन् । संक्रमणबाट बच्न सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड नगर्न मन्त्रालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति: बुधबार, चैत ११, २०७७  १९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update