Shittalpati
नेपालमा फेरी बढ्दै कोरोना संक्रमण

पाल्पा, नेपालमा कोरोना संक्रमण दर फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ३२ जनाको पीसीआर गर्दा १ सय ८८ जनामा कोरोना पुष्टि भएको हो । यो सहित कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार २ सय ४४ पुगेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार यो संख्या पछिल्लो ४३ दिनपछिको सबैभन्दा बढी हो । सोमबार १ सय ५० जनामा संक्रमण पुष्टि भएको थियो ।यस्तै पछिल्लो २४ घण्टामा ७७ जना डिस्चार्ज भएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७२ हजार ९७ पुगेको छ । कोरोनाबाट निको हुनेको दर ९८.५ प्रतिशत हो । मन्त्रालयका अनुसार हाल ४८ क्वारेन्टाइनमा र ११ सय २८ जना आइसोलेसनमा छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । सोमबार कोरोनाबाट ३ जनाको मृत्यु भएको थियो । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १९ पुगेको छ । पछिल्ला दिनमा छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमण बढेसँगै नेपालमा पनि संक्रमण बढ्ने सम्भावना रहेको विज्ञहरुले औंल्याएका छन् । संक्रमणबाट बच्न सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड नगर्न मन्त्रालयले अनुरोध गरेको छ । आइतबार विज्ञप्ति सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयले सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको हो । मन्त्रालयले छिमेकी देश भारतमा देखिएको संक्रमणको त्रास नेपालमा पनि भएकाले सतर्कता अपनाउन गरेको अनुरोध आफैमा सकरात्मक छ । मुलुकमा संक्रमित संख्या थोरै मात्रमा बढे पनि यसप्रति सबै सचेत हुन आवश्यक छ । समयमै सावधानी अपनाइएन भने संक्रमणको अर्को लहर सुरु नहोला भन्न सकिन्न । खासगरी, पछिल्लो समय भारतमा जुन रूपमा संक्रमितहरूको संख्या बढिरहेको छ, त्यसलाई हेरेर पनि हामीले थप सजगता अपनाउन जरुरी छ । भारतमा देखिएको संक्रमणको अवस्थाले पनि नेपालमा थप जोखिम रहन सक्ने आंकलन गर्न सकिन्छ ।

प्रकाशित मिति: बुधबार, चैत ११, २०७७  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update