Shittalpati
आज विश्व क्षयरोग दिवस मनाईदै

पाल्पा, आज विश्व क्षयरोग दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । ‘द क्लक इज टिकिंग’ अर्थात् ‘समय बितिरहेको छ’ भन्ने सन्देसहित आज क्षय रोग दिवस मनाउन लागिएको हो । मार्च २४ तारिकका दिन हरेक वर्ष नेपालमा विभिन्न कार्यक्रम गरि दिवस मनाउने गरिन्छ । देशभर रहेका सबै क्षयरोगी सम्पर्कमा नआएको निष्कर्षसहित सरकारले सम्पर्कमा नरहेका रोगीहरुको खोजी मुख्य योजना भएको जनाएको छ । पाल्पा लगायत देशभर जिल्लाहरुमा जनचेतना मुलक कार्यक्रम गरी दिवस मनाउन लागिएको छ । क्षयरोग रोकथामका लागि सरकारले ठूलो धनराशी खर्च गरे पनि रोगीको संख्यामा भने कुनै कमी आएको देखिदैन । नियमित रुपमा औषधि सेवन गरे सजिलै निको हुने क्षयरोगको प्रभाव कम गर्न सरकारले नि:शुल्क औषधिको व्यवस्था गरेको छ । सरकारले यस क्षेत्रमा निःशुल्क औषधीको व्यवस्था गरे पनि नेपालको क्षयरोगको तथ्यांक भने अझै पनि भयावह रहेको छ । नेपालको ठूलै जनसंख्या क्षयरोगले ग्रसित रहेको पाइएको छ । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार, हरेक वर्ष करिब ४४ हजार नयाँ क्षयरोगी नेपालमा थपिने र करिब ५ देखि ७ हजार नेपाली क्षयरोगले वर्षेनी मृत्युवरण गर्छन् ।

क्षयरोगीहरुको उमेर समूह धेरैजसो उत्पादक उमेर समूह अर्थात् १५ देखि ४९ वर्ष हुने गर्छ । नेपालमा भेटिने क्षयरोगी मध्ये ७५ प्रतिशत भन्दा बढी त फोक्सोकै क्षयरोग हुने र अन्य ग्रन्थी, पाठेघर, पेट, कलेजो, मृगौला, मष्तिष्क र हड्डी आदिका हुने गर्छन् । नेपालमा क्षयरोग उपचारका लागि सबै जिल्लाहरुमा हुने गरी स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी (डट्स) पद्धतिमा आधारित सेवा केन्द्रहरु खुलेका छन् । सन् २०१६ सम्ममा ४५ जिल्लामा मात्र रहेको जिन एक्सपर्ट सुविधा सन् २०२१ सम्मा ७५ वटै जिल्लामा लग्ने नेपाल सरकारले लक्ष्य लिएको छ । यो प्रविधि क्षयरोग पत्ता लगाउन धेरै भरपर्दो र गुणस्तरीय मानिन्छ ।

प्रकाशित मिति: बुधबार, चैत ११, २०७७  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update