Shittalpati
कृषि क्षेत्रको अधोगति

आर्थिक समृद्धिको मेरुदण्ड कृषि हो । कृषिको माध्यमबाट नै देशको आर्थिक समृद्धि सम्भव छ । तर त्यही कृषि नै सबै पक्षबाट उपेक्षित हुन पुगेको छ । सरकारी तवरबाट होस् वा जनस्तरबाटै नै किन नहोस् कृषिप्रति त्यति चासो दिएको देखिदैन । जसको परिणाम हरेक वर्ष कृषिजन्य उत्पादनमा परनिर्भरता बढ्दै गएको छ । यो अत्यन्त दुखको कुरा हो ।
नेपाल कृषि प्रधान देश भएर पनि कृषिमै परनिर्भर हुनु लजास्पदको विषय हो । दैनिक उपभोगका लागि अत्यावश्यक कृषि उत्पादनमा हामी दिनानुदिन भारतसँग परनिर्भर हुँदै गएका छौं । सरकारले वर्षेनी कृषिमा आत्मनिर्भरताको नारा अघि सार्छ तर त्यो नारामा मात्र सीमित छ । कृषिमा वास्तविक योजना बनाई त्यसलाई लागू गर्ने प्रयास भएको देखिँदैन । त्यसैले नै हरेक वर्ष आयातको क्रम बढिरहँदा खर्बौं रुपैयाँ बाहिइरहेको छ । कुल गार्हस्थ्य उत्पादनको झण्डै एकतिहाइ योगदान दिने हाम्रो कृषिमा प्रविधि भित्रिन नसकेका कारणले हामी निर्यातमुखी हुन सकेनौं, खालि निर्वाहमुखी मात्र भयौं । कृषिमा बजेट पनि घटाएर आधा बनाइएको छ । यसले पनि कृषि विकासमा नकारात्मक असर परेको अवस्था छ । विश्वका अविकसित र कृषिमा लागेका देशहरूलाई विकसित देशहरूले लामो समयसम्म कृषिमा सहयोग गरे, तर धेरै समयसम्म उन्नति गर्न नसकेका हाम्रा जस्ता देशहरूलाई जति गरे पनि नहुने रहेछ भनेर सहयोग गर्न छोडिदिए । यसले पनि पछिल्लो अवस्थामा नेपाललाई समस्या पर्न गयो । कृषिउपजका लागि उपयुक्त जमिन हुँदाहुँदै हामीले यसमा कुनै प्रगति गर्न सकेका छैनौं । देशको उत्पादनशील जनशक्ति विदेशमा श्रम बेचिरहेको छ । तिनै युवाले पठाएको रेमिट्यान्स हाम्रो अर्थतन्त्रको आधार बनेको छ, तर कृषिजन्य पदार्थ आयातमा ठूलो खर्च बेहोर्नुपर्दा अर्थतन्त्रमा त्यसको नकारात्मक प्रभाव परिरहेको छ । सरकारको नीतिगत अदूरदर्शिता, अनुसन्धान र विज्ञताको कमी, बजारमा बिचौलियाको चलखेलजस्ता कारणले हाम्रो देशमा कृषि क्षेत्रले अधोगतिको सामना गर्नुपरेको छ । यसले देशको कुनै पनि हालतमा आर्थिक समृद्धि ल्याउन सक्दैन । यसर्थ कृषि क्षेत्रको उत्पादन र उत्पादकत्वमा वृद्धि गरी कृषिको व्यवसायिकरण गर्न सबैले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: शनिबार, चैत ७, २०७७  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update