Shittalpati
पाल्पामा ६५ वर्ष भन्दा माथिका ५६ प्रतिशतले कोरोना खोप लगाए

रामचन्द्र रायमाझी
पाल्पा, पाल्पामा दोस्रो प्राथमिताको कोरोना विरुद्धको खोप अभियान सकिएको छ । जसमा ६५ वर्ष भन्दा माथिका ५६ प्रतिशतले खोप लगाएका छन् । गत फागुन २३ गते सञ्चालन भएको खोप अभियानमा ९ हजार २ सय ३५ अर्थात् ५६ प्रतिशत वृद्धवृद्धाहरुले खोप लगाएका हुन्  ।स्वास्थ्य कार्यालय पाल्पाले लक्ष्यको ५६ प्रतिशत मात्र प्रगति हासिल गरेको छ । कार्यालयले १६ हजार ४ सय ४५ जना ६५ वर्ष भन्दा माथिका नागरिकहरुलाई खोप लगाउने लक्ष्य राखेकोमा ९ हजार २ सय ३५ जनाले मात्र कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । जिल्लाका दशवटै स्थानीय तहका वृद्धवृद्धाहरुलाई खोप लगाइएको थियो । केही स्थानीय तहहरुका जेष्ठ नागरिकहरु उत्साहजन रुपमा खोप अभियानमा सहभागी भए भने केहीले खोप लगाउन उत्साह देखाएनन् । खोप बारे घर–घरमा चेतनामूलक कार्यक्रम नहुँदा केही स्थानीय तहका नागरिकहरु खोप लगाउन इच्छा नै देखाएन् ।

जसले गर्दा स्वास्थ्य कार्यालयको लक्ष्य पुरा हुन सकेन । सुरुका दिनहरुमा कोरोना विरुद्धको खोप सुन्नै नमान्ने माथागढीका जेष्ठ नागरिकहरु भने खोप अभियानमा उत्साहजन रुपमा सहभागी भएका थिए । खोप बारे घर–घरमा चेतनामूलक कार्यक्रम सञ्चालन गरेका कारण पनि यहाँका नागरिकहरु उत्साहजन रुपमा खोप अभियानमा सहभागी भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव जिसीले बताए । समुदायका ६५ वर्ष भन्दा माथि उमेर समुहका व्यक्तिहरुलाई खोप लागउने अभियान प्रभावकारी बन्छ की बन्दैन भनेर दोधारमा परेका माथागढीका स्वाथ्यकर्मीहरु भने निकै उत्साहित बनेका थिए । खोप जिल्लाका ७१ स्थानबाट लगाइएको थियो । ती स्थानबाट ६५ वर्षमाथिका वृद्धवृद्धाहरुले खोप लगाएका थिए । अभियान चैत २ गतेसम्म सञ्चालन भएको थियो । खोप अभियानमा ४ सय ५२ स्वास्थ्यकर्मी परिचालन भएका थिए । जसमध्ये २ सय १६ जना स्वास्थ्यकर्मी र २ सय ३६ जना स्वास्थ्य स्वयंसेवक खटिएका हुन् । खोप अभियानलाई सम्पन्न गर्नका लागि पालिकास्तरीय र वडास्तरीय खोप समन्वय समितिलाई समेत सक्रिय बनाइएको थियो । पहिलो चरणमा जिल्लामा पाँच हजार ३ सय ६२ जनाले खोप लगाएका थिए । पहिलो चरणको पहिलो समूहका ९३ प्रतिशतले खोप लगाएका थिए । भारत सरकारले उपलब्ध गराएको कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप गत माघ १४ गतेदेखि लगाउन थालिएको हो । पहिलो चरणमा प्राथमिकतामा परेका स्वास्थ्यकर्मी, अग्रपक्तिमा काम गरेका सुरक्षाकर्मी, एम्बुलेन्स तथा शवबाहनका चालक तथा सहचालक, महिला स्वास्थ्य स्वयंसेविका लगायतलाई माघ १४ गतेदेखि २४ गतेसम्म सो खोप लगाइएको थियो भने यस अघि यही फागुन २ गतेदेखि दोस्रो प्राथमिकतामा परेका व्यक्ति जिल्लास्तरीय सरकारी कार्यालयका कर्मचारी, बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका कर्मचारीलाई खोप लगाइएको थियो ।
दोस्रो डोज खोप वैशाखमा
कोरोना भाइरसविरुद्ध पहिलो चरणमा कोभिसिल्ड खोप लगाएकालाई वैशाखमा दोस्रो डोज दिइने भएको छ । वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज दिने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पहिलो चरणको खोप लिएका सबै नागरिकलाई दोस्रो डोज दिइने छ । पहिलो चरणको अभियानमा पाल्पाबाट पाँच हजार ३ सय ६२ जनाले खोप लगाएका थिए ।
लक्षित समूहको झण्डै ९३ प्रतिशतले खोप लगाएका हुन् । दोस्रो चरणअन्तर्गत फागुन २३ देखि चैत २ गतेसम्म पहिलो डोज लगाएका नागरिकलाई सूचनापछि प्रकाशन गरिने भएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update