Shittalpati
राष्ट्रिय सहमतीको खाँचो

देशलाई बर्वाद बनाउँने तत्व अहिले हावी भएका छन् । विदेशी शक्तिहरु पनि देश विकास भन्दा पनि अस्थिरतामा रमाई रहेको अनुभूत हुन थालेको छ । त्यसैले पनि यी सबै समस्याहरुको निकासका लागि के गर्दा हुन्छ भन्ने विषय पनि आफैमा अन्यौलतामा परेको हो कि भन्ने चिन्ता दिन प्रति दिन बढेको महशुस हुन थालेको छ । राष्ट्रपति र प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्तिले फेरी पनि मध्यवती निर्वाचन कै लागि पुनः सिफारिस गर्ने तयारी गरेको हो कि भन्ने पनि बुझिन्छ ।
राष्ट्रपतिले बोलाएको सर्वदलीय बैंठकमा व्यक्त भएका बिचारले पनि प्रधानमन्त्री ओली कि त सत्ता लम्ब्याएर सत्तारोहण भई राख्ने कि मध्यावधीको माध्यमबाट निर्वाचनमा जाने भन्ने विषय नै महत्वपूर्ण हो भन्ने विषय अहिले आएर नेपाली राजनैतिक वृतमा चर्चाको विषय बन्ने गरेको छ । नेकपालाई सर्वोच्च अदालतले एमालेमै पुनःस्थापना गरे पछि त नेपाली राजनैतिक वृतमा झन भन्दा झन जटिल अवस्थाहरु उत्पन्न हुने खतरा पनि त्यतिकै बढेर गएका छन् । एमालेमा रुपान्तरित भएको माधव, भलनाथ समूहको बुधबार काठमाडौंमा शुरु भएको भेलाले सार्थकता पाउछ कि पाउँदैन भन्ने चिन्ता चर्चा र परिचर्चाले अहिले उत्पात मच्चाएको छ । त्यस कारण मुलुक दिन प्रति दिन झन भन्दा झन जटिल अवस्थामा पुगेको छ । यी सबै समस्याको निराकरणका लागि मुलुकका प्रमुख राजनैतिक दलहरु जिम्मेवार भएर अगाडि बढ्नुको विकल्प छैन । मुलुक यति समस्यामा परेको र राजनैतिक अन्यौलता सिर्जना भएको यो भूत, वर्तमान र भविष्यमा पहिलो नै हो, त्यस कारण पनि वर्तमान समयमा देखिएका समस्याहरुको समाधान गर्न सक्ने खालको अवस्था निर्माणमा जिम्मेवार भएर लागिएन भने मुलुक एक पटक फेरी अन्यौलताको भूँमरीमा फस्न सक्छ । मुलुकको विकास र समृद्धिका एवं स्थायी निकास नै उत्कृष्ट चाहना हो । अब देश र जनतालाई सर्वोपरी ठान्दै आग्रह पूर्वाग्रह त्यागेर दलहरु बिच अब राष्ट्रिय सरकार गठनका लागि छलफल हुन जरुरी छ । त्यो छलफल गर्ने र मुलुकलाई स्थायी निकास दिने थलो भनेको संसद नै हो । नेपालमा अस्थिरता पैदा गरी आफ्नो स्वार्थसिद्ध गर्ने ध्यायन्नमा रहेका शक्ति केन्द्रहरुको प्रत्यक्ष, अप्रत्यक्ष हस्तक्षेपलाई परास्त गर्ने एउटै मात्र उपाय भनेको नै राष्ट्रिय सहमती नै हो । यसर्थ मुलुकलाई स्थायी निकास दिनका लागि सबै राजनितिक दलहरु राष्ट्रिय स्वार्थका लागि एक ढिक्क हुन जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update