Shittalpati
पाल्पामा कोरोना संक्रमण शून्य नजिक, सक्रिय संख्या दशमा झर्‍यो

रामचन्द्र रायमाझी
पाल्पा, पाल्पामा कोरोना संक्रमणको अवस्था शून्य नजिक पुगेको छ । पछिल्ला दिनहरुमा कोरोनाका नयाँ संक्रमित थपिनेको तुलनामा निको हुनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या घट्दै जाँदा संक्रमण शून्य नजिक पुगेको हो । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या १० मा झरेको छ । अघिल्लो हप्ता सक्रिय संक्रमितको संख्या १३ रहेकोमा शुक्रबारसम्म त्यो संख्या घटेर १० मा पुगेको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार अहिले जिल्लामा संक्रमितको संख्या एक हजार ९ सय ६१ पुगेको छ । जसमा ५ हजार ५८ महिला र एक हजार ४ सय ३ जना पुरुष रहेका छन् ।

सक्रमितसँगै निको हुनेको दर पनि सोही अनुपातमा बढेको छ । एक हजार ९ सय १६ जना निको भएर घर फर्किएका छन् । यो तथ्यांकलाई हेर्दा पनि जिल्लामा कोरोना संक्रमणको अवस्था शून्य नजिक पुगेको स्पष्ट हुन्छ । पछिल्लो एक हप्तामा जिल्लाका विभिन्न स्थानीय तहमा थप ८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थय कार्यालयलाई गत फागुन १८ गतेदेखि फागुन २८ गतेसम्मको प्राप्त विवरण अनुसार ४ जना महिला र ४ जना पुरुषमा संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालयका अनुसार शुक्रबारसम्म ५ सय ३३ जनाको पिसिआर परीक्षण गरिएकोमा ८ जनामा संक्रमण देखिएको छ । जहाँ रामपुर नगरपालिकाका ५१ जनाको पिसिआर परीक्षण गरिएकोमा २ जनामा संक्रमण देखिएको छ । त्यस्तै पूर्वखोला गाउँपालिकामा २९ जनाको पिसिआर परीक्षण गरिएकोमा १ जना, बगनासकाली गाउँपालिकामा ६१ जनाको परीक्षण गरिएकोमा १ जना र तानसेन नगरपालिकामा १ सय ९९ जनामा परीक्षण गरिएकोमा ४ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । उनका अनुसार अहिलेसम्म माथागढी गाउँपालिकाका १ सय १ जना, रामपुर नगरपालिकाका २ सय ६२ जना, पूर्वखोला गाउँपालिकाका २ सय ६० जना, रैनादेवी छहरा गाउँपालिकाका १ सय ७ जना, रम्भा गाउँपालिकाका ९३ जना, बगनासकाली गाउँपालिकाका १ सय ४४ जना, तिनाउ गाउँपालिकाका ७२ जना, रिब्दीकोट गाउँपालिकाका ७५ जना, निस्दी गाउँपालिकाका १ सय १८ जना र तानसेन गाउँपालिकाका ६ सय ८४ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

यस्तै अहिलेसम्म जिल्लामा १४ हजार २ सय ७८ जनाको पिसीआर परीक्षण गरिएको छ । जसमा १२ हजार ३ सय १७ जनामा नेगेटिभ र एक हजार ९ सय ६१ जनामा पोजेटिभ देखिएको छ । कोरोनाका कारण अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या १० पुगेको छ । जिल्लामा अहिलेसम्म १ हजार १ सय ४९ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ८५ जना स्वास्थ्यकर्मी रहेका छन् । 

विश्वरभर फैलिएको कोरोना नियन्त्रणका लागि अधिकांश देशहरुले खोप उत्पादन गरी लगाउँदै आएका छन् । जसले गर्दा केही हदसम्म भए पनि संक्रमितको संख्यामा कमी आएको छ । नेपालले पनि कोरोना रोकथामका लागि भारतबाट खोप ल्याएर अभियान सञ्चालन गरेको छ । पहिलो चरणमा नेपालले माघ १४ गतेदेखि खोप लगाउन थालेको थियो । अहिले सरकारले फागुन २३ गतेदेखि दोस्रो प्राथमिकतामा परेका पहिलो चरणका जेष्ठ नागरिकहरुलाई खोप लगाउदै छ । दोस्रो चरणको पहिलो प्राथमिकतामा ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक परेका छन् । पहिलो चरणमा प्राथमिकतामा परेका स्वास्थ्यकर्मी, अग्रपक्तिमा काम गरेका सुरक्षाकर्मी, एम्बुलेन्स तथा शवबाहनका चालक तथा सहचालक, महिला स्वास्थ्य स्वयंसेविका लगायतलाई यही माघ १४ गतेदेखि २४ गतेसम्म सो खोप लगाइएको थियो भने यस अघि यही फागुन २ गतेदेखि दोस्रो प्राथमिकतामा परेका व्यक्ति जिल्लास्तरीय सरकारी कार्यालयका कर्मचारी, बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका कर्मचारीलाई खोप लगाइएको थियो ।

प्रकाशित मिति: शनिबार, फागुन २९, २०७७  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update