Shittalpati
भगवान शिव र महाशिवरात्री

मदन देउराली
आज महाशिवरात्री । आजको दिन हिन्दू धर्मावलम्वीहरुले अत्यन्त श्रद्धा भक्तिपूर्वक महाशिवरात्री प्रमुुख चाडको रुपमा मनाउँदै छन् । यो भगवान शिवको प्रमुुख पर्व हो । हिन्दु धर्म शास्त्र अनुसार फागुन कृष्णपक्ष चतुुर्दशी तिथिको मध्यरातमा करोडौं सूर्य समान कान्ति भएका ज्योतिलिंग स्वरुप भगवान शिव स्वयं प्रकट हुुनुु भएको उक्त पवित्र रात्रीलाई महाशिवरात्री भनिएको हो । भगवान शिवजी उत्पत्ति हुुनु भएको रातको नामबाट नामाकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुुख रात्री मध्ये शिवरात्री एक पवित्र पर्वका रुपमा रहेको पुराणहरुमा वर्णित गरिएको छ । भाद्र कृष्णजन्माष्टमीलाई मोहरात्री र आश्विन शुक्ल अष्टमीलाई कालरात्री भने जस्तै शिवरात्रीलाई महारात्री पनि भन्ने गरिन्छ । रात्रीकालिन समयमा पूजा उपासना गरिने भएकोले शिवरात्री वा महारात्री भनिएको हो । त्यसैले पनि यो दिनलाई अत्यन्त पावन दिनको रुपमा मानिन्छ । भगवान शिवलाई भोलेनाथ, पशुपतिनाथ, शंकर, नीलकण्ठ, महामृत्युञ्जय, आशुतोष, शम्भो, महादेव, भोलेनाथ, करुणामय, त्रिकालदशी, नाटेश्वर, नटराज, सदाशिव, रुद्र आदि आदि थुपै्र नामले सम्बोधन गरेको पाइन्छ । भगवान शिव अत्यन्त दयालु देवताको रुपमा मानिन्छन्, । उहाँ छिटो प्रशन्न हुनु हुन्छ र यस्तो बेलामा भक्तले जे मागे पनि दिनु हुन्छ भनिन्छ ।

श्री स्वस्थानी व्रतकथा पुस्तकमा लंकाका राजा रावणले भगवान शिवलाई आफ्नो तपले प्रशन्न गराएर माता पार्वतीलाई नै लिएर गएको र पछि भगवान विष्णुले चाल पाई रावणलाई मायामा पारी माता पार्वतीलाई छुटाएर लगेको उल्लेख गरिएको छ । त्यसैले उहाँलाई भोलेनाथ भनिएको हो । भगवान शिवलाई अत्यन्त शक्तिशाली देवता पनि मानिन्छ । त्यसैले उहाँलाई देवताका पनि देवता भन्ने गरिन्छ । त्यस्तै गरी भगवान शिवलाई सम्पूर्ण विद्या, ज्ञान तथा कलाका देवता पनि भनिन्छ । संगीत भगवान कै डमरु नादबाट उत्पत्ति भएकाले भगवानलाई नाटेश्वर पनि भनिन्छ । भगवान शिवको ताण्डव नृत्यलाई सृष्टिको पहिलो नृत्य मानिन्छ  । शिव शव्दको अर्थ कल्याण हो तथा आशुतोषको अर्थ हो चाँडै प्रशन्न हुने देवता । भनिन्छ यसै दिन शिव पार्वतीको विवाह भएको थियो । हिन्दुपुराण अनुसार यस महाशिवरात्रीका दिन विधिपर्वक पूजा गरेमा फल प्राप्त हुन्छ भनिन्छ । व्रतोत्सवहरु मध्ये सर्वोत्तम मानिएको महाशिवरात्रीका दिन भक्तजनहरु शुद्ध भई दिनभर निराहार व्रत बसी शिव मन्दिरमा गई भगवान शिवको पूजा आराधना गर्दछन् । साँझपख धुनी बाली प्रसाद खाई रात्रीमा जाग्राम बसी अत्यन्त श्रद्धा भक्तिपूर्वक मनाउँछन् । शिवको पूजा भनेको शिवलिंग पूजा हो । शिवलिंग शिवको ज्योतिर्मय निराकारको स्वरुप हो । शिवलिंग शिवको पुजातिय सिर्जनात्मक शक्तिको प्रतिक हो । लिंग पूजा गर्दा शिवरात्रीको पहिलो प्रहरमा दूधले ,दोश्रो प्रहरमा दहीले, तेश्रो प्रहरमा घिउले र चौथौ प्रहरमा महले स्नान गराएर पूजा गर्नु पर्दछ भनिन्छ ।

यस दिनको मूख्य तत्व भनेको कठोर उपवास तथा रातभर जागरण बसी भगवानको आराधना गर्नु हो । भगवानलाई पूजा गर्न चढाइने फूलहरु, बेलपत्र, धतुरो तथा अन्य फलफूलहरु हुन । त्यस्तै प्रकारले दुध, दही, घ्यू, नरिवलको पानी, नौनी तथा महले भगवान शिवलाई स्नान गराइन्छ । यसरी भगवान शिवलाई मन पर्ने वस्तुहरु चढाएमा आत्मा शुद्ध हनका साथै पवित्र हन्छ भनिन्छ । भगवानलाई सिन्दूर टिका पनि चढाइन्छ । सिन्दूर चढाउनु भनेको सद्गुण बृद्धि हुनु हो । फलफूल चढाउनु भनेको दीर्घ आयु तथा इच्छा पूरा हुनु हो । धूप बाल्नु भनेको सम्पति बृद्धि हुनु हो । दीप बाल्नु भनेको ज्ञानको बृद्धि हुनु हो, र बेलपत्र चढाउनु भनेको सासारिक सुख भोग गर्नु हो भनिन्छ । यस फागुण कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीन दुखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरुको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रुपमा पनि लिइने गरिन्छ । भगवान शिवको रौद्ररुपलाई कालभैरव भनिन्छ । सत्ययुगमा समुद मन्थनको क्रममा निस्किएको हलाहल विषको भिषण ज्वालाबाट सम्पूर्ण प्राणी जल्न लागे त्यो देख्ना साथ भयाक्रान्त प्रजापतिहरुले भगवान श्री आशुतोषको प्रार्थना गरे । तत्काल करुणा सागर शिवले उक्त विष हातमा लिएर पान गरी कण्ठमा धारण गर्नु भयो । विषको दहनले भगवानको कण्ठ निलो हुुन पुग्यो र निलकण्ठ नामले प्रशिद्ध हुुनुुभयो । उहाँको रुप पनि विचित्रको रहेको छ । उहाँ स्मशानमा बास गर्नुहुन्छ , खरानी विभुति लेपन गर्नु हुन्छ । यस्को अर्थ संसारमा जुन चिजको श्रृष्टि हुन्छ त्यसको अन्त निश्चित छ यो साश्वत सत्य हो । त्यसैले खरानी जन्म र मृत्युको परिपूरक हो । उहाँको गलामा डरलाग्दा भयंकर सर्पको हार हुन्छ । सर्प रिस र अहंकारको प्रतिक हो, मानव जातीको शत्रु हो तर त्यसलाई भगवानले आफनो शरिरमा धारण गर्नु भएको अर्थ हो भगवान रिस अहंकार भन्दा पनि माथि हुनुहुन्छ । उहाँको जटामा पावन गंगा, शितल चन्द्रमा, मस्तकमा प्रलयंकर ज्वाला, साढे बाहन आदि आदि हुन । कुरुप भूत पे्रत पिशाच आदि समाजबाट अपहेलित भएकालाई भगवानले आफनो गणमा स्थान दिनु भएको छ ।

शक्तिको दुरुपयोग र अहंकारको नाशको संकेत स्वरुप दुष्टहरुको संहार गरी गलामा मुण्डमाला लगाउनु हन्छ भने बाघको छालालाई वस्त्रको रुपमा धारण गरी बाघम्बरको नामले चिनिनु भएको छ । गाँजा, भांग धतुरो जस्ता विषालु वस्तुलाई भगवानले आफ्नो आहार बनाउनु भएको छ । यसरी भगवान शिवलाई एकातिर करुणामय तथा अर्को तिर संहारकर्ता दुबैरुपमा लिइन्छ । यस पर्वका दिन उपवास बसी ॐ नमः शिवाय मंत्र जप गरेमा सर्वसिद्ध लाभ भई यमलोक जान नपर्ने धार्मिक विश्वास रहेको छ । आजको दिन विवाहित महिलाहरु आफना पतिको सुस्वास्थ्य तथा दीर्घायूको कामना गर्दै व्रत बस्दछन् भने अविवाहित महिलाहरु असल पतिको कामना गर्दछन् । अन्य भक्तहरु आफनो इच्छा सिद्ध होस भन्ने मनोकामना राखेर व्रत बस्दछन् । शिवरात्रीको दिन आ–आफना ठाउँहरुमा भएका साना ठूला शिव मन्दिर, मूर्ति, शिव लिंगहरुमा धमधामका साथ पूजा आराधना गर्दछन् ।तानसेन बजारका विभिन्न टोलहरुमा शिव मन्दिरहरु बनाइएका छन् । पाल्पाका लागि पहिलो तैनाथवाला जनरल अमरसिंह थापाले अमरनारायण मन्दिर बनाउँदा सोही परिसरमा अमरेश्वर महादेव मन्दिर पनि बनाएका थिए । सिंह राणाको पालामा भगवती मन्दिर परिसरमा बद्रेश्वर महादेव स्थापना गरेका थिए । वडा नम्बर ८ भगवती टोलमा भक्तजनहरुले नै शिवको मन्दिर स्थापना गरी शिवालय बनाएका छन् । मखनटोल सडकमा भगवान गणेश तथा महादेव मन्दिर संगसंगै रहेको छ । तर यो मन्दिर कस्ले बनाएको भन्ने कतै उल्लेख गरेको देखिदैन । गोर्खेकोटमा पनि सो क्षेत्रको वासिन्दाहरुले पूजा गर्न शिव मन्दिर बनाएका छन् ।

त्यस्तै गरी प्रभासमा मणि मुकुन्देश्वर महादेवको मन्दिर रहेको छ भने बराङदीमा भगवान शिवको विशाल मूर्ति बनाइएको छ । महाशिरात्रीका दिन प्रभासमा ठूलो मेला लाग्दछ । पहिला पहिला मोटर बाटो हुँदै फेदीमा झर्ने र त्यहाँबाट प्रभास जाने गरिन्थ्यो । यस दिन प्रभासमा रहेको मणि मुकुन्देश्वर महादेवको मन्दिर तथा पारीको डाँडामा बंशगोपालको मन्दिरमा भक्तजनहरुको घुँइचो लाग्छ । प्रभासको आँप बगैंचामा जताततै गाउँमा उत्पादित वस्तुहरुको बजार लाग्थ्यो । कृषि मेलाको आयोजना गरिन्थ्यो । गाउँमा उत्पादन भएका विभिन्न वस्तुहरुको प्रदर्शन गरिन्थ्यो । मेलामा उखु, बटुक, तरुल आदि प्रसस्त पाइन्थ्यो । बटुक खान प्रभासको भेला पर्खनु पथ्र्यो । आजकाल सिद्धार्थ राजमार्गको जताततै बटुक पाइन्छ तर यसको मौलिक स्वाद पाइदैन । मेला भर्न आउने मानिसहरुको चहलपहल हल्लाखोरले प्रभास गुञ्जयमान हुन्थ्यो । त्यसबेला बटुक खाँदै उखुको रस चुस्दै अनि त्यही उखु टेक्दै फेरि त्यही काजीपौवाको बाटो हुँदै उकालो चढनु अर्कै आनन्द हुन्थ्यो । तर अहिले आँप बगैचाको धेरै जसो भागमा घरहरु निर्माण भैसकेका छन् । बजार लगाउने ठाउँ पनि खोज्नु पर्ने स्थिति आइसकेको छ । मेला भर्न कमै मात्रामा मानिसहरु जान्छन् । अहिले मेलाको रौनक पहिले जस्तो छैन् । यस दिन तानसेन बजारको घर घरमा साँझ पख आगो बालिन्छ । यसका अलावा शिव मन्दिर, चोक चोकमा पनि आगो बालिन्छ तथा भगवान शिवको पूजा गरिन्छ ।यस्री आफनो घर अगाडि आगो बाली भगवान श्री महादेवको पूजा आराधना गरिन्छ । कतै कतै कसैले आफनो घर अगाडि आगो ताप्ने भक्तजनहरुलाई छुस्यामुस्या भनेर मकै, भट्ट,चना,केराउ, बदाम, चामल बकुला तथा अन्य गेडागुडी भुटेको प्रसादको रुपमा बाँडने पनि गर्दछन् । पहिले पहिले यस दिन दुईजना युवाहरुलाई नै महादेव पार्वती बनाई रथमा राखी भजन गाउँदै नगर परिक्रमा गरिन्थ्यो तर आजकाल यो चलन हराएको धेरै वर्ष भैसकेको छ । पारम्परिक संस्कृतिले भरपूर तानसेन अहिले क्रमशः संस्कृतिविहिन हँुदै गईरहेको छ । संरक्षणको चासो कसैलाई छैन । सबै एकदिन एकादेशको कथा हुनेछ ।
(लेखक देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष समेत हुन् ।)

 

प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update