Shittalpati
सक्रिय संक्रमितको संख्या ८ सय ७२ मा झर्‍यो

पाल्पा, नेपालमा हाल कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ८ सय ७२ मा झरेको छ । पछिल्ला दिनहरुमा कोरोनाका नयाँ संक्रमित थपिनेको तुलनामा निको हुनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या घट्दै गएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म नेपालमा संक्रिय संक्रमितको संख्या ८ सय ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । ४ हजार ३ सय ९९ स्वाब नमूना परीक्षण गराउँदा ८९ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित हुनेमा ४० महिला ४९ रहेका पुरुष छन् । यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८ सय १० पुगेको छ । यस्तै सोमबार थप ४१ जना डिस्चार्ज भएका छन् । यो सहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ७० हजार ९ सय २७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार निको हुनेको दर ९८.६ प्रतिशत हो । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ११ पुगेको मन्त्रालयले जनाएको छ । सोमबार कोरोनाबाट १ जनाको मृत्यु भएको छ । यस्तै अहिले ५५ जना क्वारेन्टिन र ८ हजार ७ सय ६२ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

विश्वरभर फैलिएको कोरोना नियन्त्रणका लागि अधिकांश देशहरुले खोप उत्पादन गरी लगाउँदै आएका छन् । जसले गर्दा केही हदसम्म भए पनि संक्रमितको संख्यामा कमी आएको छ । नेपालले पनि कोरोना रोकथामका लागि भारतबाट खोप ल्याएर अभियान सञ्चालन गरेको छ । पहिलो चरणमा नेपालले माघ १४ गतेदेखि खोप लगाउन थालेको थियो । अहिले सरकारले फागुन २३ गतेदेखि दोस्रो प्राथमिकतामा परेका पहिलो चरणका जेष्ठ नागरिकहरुलाई खोप लगाउन थालेको छ । दोस्रो चरणको पहिलो प्राथमिकतामा ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक परेका छन् । पहिलो चरणमा प्राथमिकतामा परेका स्वास्थ्यकर्मी, अग्रपक्तिमा काम गरेका सुरक्षाकर्मी, एम्बुलेन्स तथा शवबाहनका चालक तथा सहचालक, महिला स्वास्थ्य स्वयंसेविका लगायतलाई यही माघ १४ गतेदेखि २४ गतेसम्म सो खोप लगाइएको थियो भने यस अघि यही फागुन २ गतेदेखि दोस्रो प्राथमिकतामा परेका व्यक्ति जिल्लास्तरीय सरकारी कार्यालयका कर्मचारी, बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका कर्मचारीलाई खोप लगाइएको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन २५, २०७७  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update