Shittalpati
पाल्पामा खोप अभियान प्रभावकारी बनाइँदै

रामचन्द्र रायमाझी

पाल्पा, पाल्पामा कोभिड –१९ विरुद्धको खोप अभियानलाई थप प्रभावकारी बनाईने भएको छ । पहिलो चरणको प्रथम प्राथमिकताको खोप अभियानमा ९३ प्रतिशत उपलब्धि हासिल गरेको स्वास्थ्य कार्यालय पाल्पाले यो अभियानलाई थप प्रभावकारी बनाउने गरी अगाडि बढेको हो । अभियानलाई प्रभावकारी बनाउनका लागि जिल्लाका सबै पालिका, वडास्तरमा खोप समन्वय समिति बनाई काम अगाडि बढेको स्वाथ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयले दोस्रो प्राथमिकताको पहिलो चरणमा परेका ६५ वर्षभन्दा माथिका १६ हजार बढी नागरिकलाई कोरोना भाइरस संक्रमणविरुद्ध खोप लगाउने लक्ष्य राखेको छ । यही फागुन २३ गतेदेखि सञ्चालन गर्न थालेको दोस्रो प्राथमिकताको पहिलो चरणको खोप अभियानलाई प्रभावकारी र पारदर्शी बनाउन स्वास्थ्य कार्यालयले जिल्लाका सञ्चारकर्मीहरुसँग शुक्रबार अन्तत्र्रिmया गरेको छ । कार्यालयले भ्याक्सिन अभियान सफल हुँदै गएको भन्दै यो अभियानमा संलग्न भई सफल बनाउन पत्रकार तथा सञ्चारकर्मीहरुलाई आग्रह गरेको छ । कार्यक्रममा कार्यालयका प्रमुख विश्व विश्वनाथ न्यौपानेले कोरोना संक्रमण र खोपका बारेमा जानकारी गराउदै खोप अभियानलाई सफल बनाउन सकारात्मक प्रचारसहितको अभियानमा सहभागी हुन पत्रकार तथा सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले खोप अभियानलाई प्रभावकारी बनाउन पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् । उनले कोभिड महामारीका बेला जिल्लाका पत्रकारहरुले देखाएको सक्रियता अत्यन्त महत्वपूर्ण रहेको भन्दै खोप अभियानमा पनि सहयोग गर्न आग्रह गरे । कार्यक्रममा सञ्चारकर्मीहरूले खोप अभियानलाई प्रभावकारी र विश्वसनीय बनाउन सर्वप्रथम जिम्मेवार व्यक्तिलाई नै खोप लगाउनुपर्ने बताएका छन् । उनीहरुले जनप्रतिनिधिहरुले नै खोप नलगाउँदा आमनागरिकमा खोपप्रतिको विश्वसनीयता नरहने भन्दै सबै जनप्रतिनिधिहरुलाई खोपको दायरामा ल्याउनुपर्नेमा जोड दिएका थिए । सञ्चारकर्मीहरुले आमनगारिकमा खोपप्रतिको विश्वास दिलाउन सकेमा अभियानले सार्थकता पाउने बताएका छन् ।

कार्यक्रममा जोखिम कम गर्नका लागि ढुक्क भएर सबैले खोप लगाउनुपर्ने लुम्बिनी मेडिकल कलेजका डा.समता नेपालले बताईन । उनका अनुसार खोप लगाएपश्चात् केही व्यक्तिमा सुई लगाएको भागमा दुख्ने, सुनिने गाँठो पर्ने, टाउको दुख्ने, जिउ दुख्ने, जोर्नीहरू दुख्ने, मध्यम ज्वरो आए पनि गम्भीर प्रकृतिकोे असर भने देखिएको छैन । कोभिडको जोखिम कायमै रहेकाले ९० प्रतिशत नागरिकहरुले खोप नलगाएसम्म जोखिम कम नहुने भएकाले सबैले ढुक्कसँग खोप लगाउन सकिने स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । उनका अनुसार दोस्रो प्राथमिकताको पहिलो चरणमा परेका ६५ वर्षभन्दा माथिका १६ हजार ४ सय ४५ जना नागरिकलाई खोप लगाउने तयारी भएको छ । खोप लगाउने नागरिकले पायक पर्ने खोप केन्द्रमा जाँँदा आफ्नो नागरिकता अनिवार्य लिएर जानुपर्ने सूचना अधिकारी पन्थीले बताए । अभियान फागुन २३ गतेदेखि चैत २ गतेसम्म सञ्चालन हुने छ । यसअघि शिक्षक, ५५ वर्षदेखि माथिका र सवारी चालकलाई समेत कोरोना बिरुद्धको खोप लगाउने भनिएता पनि खोपको परिणाम कम आएकाले यो चरणमा ६५ वर्षँ माथिकालाई मात्र खोप लगाइने भएको छ । पाल्पाका ७१ वटा खोप केन्द्रमार्फत नागरिकलाई खोप लगाइने छ । खोप केन्द्रहरूमा २१६ जना स्वास्थ्यकर्मी र २३६ जना स्वास्थ्य स्वयंसेवक खटिने छन् । पहिलो चरणमा जिल्लाका पाँच हजार ३ सय ६२ जनालाई खोप लगाइएको थियो । स्वास्थ्य कार्यालयले पहिलो चरणमा पाँच हजार ८ सय जनालाई खोप लगाउने लक्ष्य लिइएकोमा ९३ प्रतिशत प्रगति हासिल गरेको थियो । पहिलो प्राथमिकतामा परेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कैदीबन्दी, शब व्यवस्थापनमा खटिएका कर्मचारी, सरसफाईकर्मी, बैँकका कर्मचारी, जेष्ठ नागरिक, जनप्रतिनिधि, सञ्चारकर्मी लगायतले कोरोना विरुद्धको खोप लगाइसकेका छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन २१, २०७७  १९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update