Shittalpati
समुदायस्तरमा कोभिड विरुद्धको खोप लगाइदै

पाल्पा, जिल्लाका स्थानीय तहहरुले समुदायस्तरमा कोभिड विरुद्धको खोप लगाउने तयारी थालेका छन् । कोभिडको महामारीबाट आमनागरिक समेत प्रभावित बनेको भन्दै स्थानीय तहहरुले समुदायस्तरबाटै खोप लगाउने तयारी थालेका हुन् ।
जिल्लाको निस्दी गाउँपालिका, माथागढी गाउँपालिका, रामपुर नगरपालिकाहरुले फागुन २३ गते लगाउने खोपको तयारीलाई अन्तिम चरणमा पुर्‍याएको जनाएका छन् । निस्दी गाउँपालिकाले ७ वटै वडाका नागरिकलाई मध्यनजर गर्दै खोप लगाउने जनाएको छ । गाउँपालिकाले आगामी फागुन २३ देखि समुदायस्तरमा सञ्चालन गरिने खोप अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीलाई निर्देशन दिइएको जनाएको छ । त्यस्तै जिल्लाको माथागढी गाँउपालिकाले पनि समुदायस्तरमा फागुन २३ गतेदेखि कोभिड विरुद्धको खोप सञ्चालन गरी तयारीलाई तीव्रता दिइएको गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले बताए । उनका अनुसार गाउँपालिकाले आफ्नो आठ वटै वडाका नागरिकलाई मध्यनजर गर्दै खोप सञ्चालन गर्ने गरि तयारी अगाडि बढाएको हो ।
यस्तै रामपुर नगरपालिकाले पनि १० वटै वडाका नागरिकलाई मध्यनजर गर्दै खोप सञ्चालन गर्ने गरि तयारी थालेको नगरप्रमुख रमणबहादुर थापाले बताए । खोप अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीलाई निर्देशन दिइसकिएको नगर प्रमुख थापाले बताए । पाल्पाका अन्य स्थानीय तहरुले पनि खोप अभियानलाई तिव्रता दिएका छन् । स्थानीय तहहरुले ५५ वर्ष उमेर माथिका नागरिक, शिक्षक, चालक, सहचालक, पहिले छुट भएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, कर्मचारीलाई लक्षित गरि खोप लगाउने तयारी गरेका हुन् । उनीहरुले नजिकैका स्वास्थ्य संस्थामा गएर खोप लगाउन आमनागरिकलाई सुचित गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update