Shittalpati
खानीगाउँ स्वास्थ्य चौकी भवनको उद्घाटन

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिका ७ मा रहेको खानीगाउँ स्वास्थ्यचौकी भवनको उद्घाटन गरिएको छ । १ करोड ३८ लाख लागतमा निर्माण भएको बर्थिङ सेन्टर सहितको भवनको एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । भवनको लुम्बिनी प्रदेशका सांसद तथा नेपाली काँग्रेस पाल्पाका सभापति वीरबहादुर रानाले उद्घाटन गरेका हुन् । भवनको उद्घाटन गर्दै सांसद रानाले गुणस्तरीय स्वास्थ्य सेवाका लागि भौतिक पूर्वधार महत्वपूर्ण रहेको बताए । उनले सुविधा सम्पन्न भौतिक पूर्वधारको अभावका कारण स्वास्थ्य सेवा गुणस्तरीय हुन नसक्ने भन्दै गाउँपालिकाले भौतिक पूर्वधारको विकासमा देखाएको सक्रियता अत्यन्त महत्वपूर्ण रहेको धारणा व्यक्त गरे । जनताको पहिलो प्राथमिकता स्वास्थ्य भएकाले सोही अनुरुप स्थानीय सरकारले काम गर्नुपर्नेमा सांसद रानाले जोड दिए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले स्वास्थ्य क्षेत्रको विकासका लागि गाउँपालिका प्रतिवद्ध रहेको बताउँदै हरेक वडामा बर्थिङ सेन्टर स्थापना गर्ने गरी आफुहरु अगाडि बढेको बताए । उनले भने ‘जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर सुरुका दिनदेखि नै काम गर्दै आएका छौं, यहाँका महिलाहरुलाई सुत्केरी गराउनकै लागि जिल्ला सदरमुकाम जानुपर्ने बाध्यतालाई हामी अन्त्य गर्दैछौं ।’ अध्यक्ष बस्यालले दक्ष जनशक्ति र स्वास्थ्य चौकीलाई चाहिने आवश्यक उपकरण समेत उपलब्ध गराउने बताएका छन् । एउटा कोठाबाट मात्रै सेवा सञ्चालन गर्दै आएका कार्यालको अहिले शौचालय सहित ७ कोठे डेढ तले भवन निर्माण भएको छ । १८ महिनामा सक्ने गरी ड्रगन कन्स्ट्रक्सन प्रालि काठमाडौंले निर्माण कार्यको ठेक्का लिएको थियो । कम्पनीले समयमै काम सम्पन्न गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणीराम अधिकारीले बताए ।

प्रकाशित मिति: शनिबार, फागुन १५, २०७७  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update