Shittalpati
स्वस्थानीको समाप्ति र सन्देश

पौष शुक्ल पूर्णीमाका दिनबाट शुरु भएको श्री स्वस्थानी माताको महीमा वर्णन गर्ने कथाहरुको वाचन आज विधिवत समापन हुँदैछ । आजबाट श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनका लागि विसर्जन गरिन्छ । आम नेपाली महिलाहरुले लिने व्रत भन्दा पनि अलि कठिन व्रतको रुपमा यसलाई लिने गरिन्छ । थुप्रै धार्मिक र सामाजिक महत्व बोकेको यस स्वस्थानीको व्रत सत्य युगमा हिमालयकी छोरी पार्वतीले महादेव पति पाउ भनेर १ छाक खाएर निकै कस्टका साथ व्रत बसेको र व्रत पश्चात् आफ्नो मनोकामना पूरा भएको जन विश्वास पाइन्छ । साथै अर्काे सामाजिक पाटोलाई हेर्ने हो भने गोमा ब्राह्मणीको कथाले प्राचिन समयमा पनि बालबालिकाहरुका नराम्रा असरहरु प्रस्तुत गदै बालबालिका बारे जनचेतना फैलाएको छ । संसारको श्रृष्टी अनि शिव पार्वती सम्बन्धका कुराहरु मार्फत धेरै ठाउँमा नारी पुरुष बीचको लैङ्गिक समानताको वकालत पनि यसले गरेको छ । श्री स्वस्थानी व्रत कथाका केहि सन्दर्भ उठाएर सनातन धर्मको आलोचना नभएको भने हैन तर पनि मानिसलाई आध्यात्मिकतर्फ लैजान स्वस्थानी व्रत कथाले महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । यो व्रत बस्नाले सुख शान्ति समृद्धि मिल्नुका साथै रोगव्याधी पनि नष्ट हुने विश्वास गरिन्छ ।

महिनाभर घर–घरमा वाचन एवं श्रवण गरिने श्रीस्वस्थानी व्रतकथाको महत्व धार्मिक एवं आध्यामिक रूपले मात्र नभई समाजका विकृतिलाई हटाएर स्वस्थानमा रहन प्रेरित गर्दछ । यसमा प्रेमको सन्देश सतीदेवीलाई महादेवले कैलाश र आफ्नो ज्योति स्वरूपको दर्शन दिएपश्चात् यी दुई पतिपत्नी बीच सुमधुर सम्बन्ध रहेको स्वस्थानीमा देखाइएको छ । सतीदेवीले आफ्ना पतिले खाने भाँङ, धतुरोको हिफाजातसँग राखिदिने र भोजन पतिले नखाएसम्म आफूले पनि नखाने जस्ता कार्यबाट पतिप्रेम दर्शाउँछ । देहत्याग गरेकी सतीदेवीलाई समेत बोकेर विक्षिप्त भई हिँड्नु सतीदेवीको सम्पूर्ण अंगपतन भइसक्दा पनि चाल नपाउनु महादेवको पत्नीप्रतिको प्रेम देखिन्छ । यसर्थ पनि स्वस्थानी कथालाई नेपाली समाजमा रहेका विकृत तथा विसंगतिलाई हटाई स्वस्थ समाज निर्माण गर्ने सन्देशको रूपमा लिन सकिन्छ ।

प्रकाशित मिति: शनिबार, फागुन १५, २०७७  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update