Shittalpati
गुल्मीमा कोरोना संक्रमितको संख्या शून्यमा झर्‍यो

गुल्मी, जिल्लामा अहिले कोरोना संक्रमितको संख्या शुन्यमा झरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी पशुपति आचार्यका अनुसार संक्रमित भएका सबै निको भएसँगै संक्रमितको संख्या शून्यमा झरेको हो ।
संक्रमितको संख्या शुन्यमा झरेपछि जिल्ला संक्रमण मुक्त भएको सूचना अधिकारी आचार्यले बताए । जिल्लामा हाल होम आइसुलेशनमा एक जना पनि छैनन् । जिल्लामा ९ सय ५२ जना कोरोनामुक्त भएर घर फर्केका छन् । जिल्लामा हालसम्म ५ हजार ९ सय ६१ जनाको कोरोना परीक्षण गरिएको थियो । जसमध्ये ९ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्लामा कोरोना संक्रमणबाट हालसम्म १३ जनाको मृत्यु भएको आचार्यले बताए । जिल्लामा हाल कोरोनाविरुद्धकोे खोप लगाउने दोस्रो चरणको कार्यक्रम पनि सकिएको छ । पहिलो र दोस्रो चरणमा लगाइएको तथ्याङ्क अनुसार हालसम्म ४ हजार १ सय ७५ जनाले कोरोना विरुद्धको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । तेस्रो चरणको खोप जिल्लामा फागुन २३ गते देखी लगाउने भएका छन् । पहिला सदरमुकामै आएर खोप लगाउनु पर्दथ्यो भने अहिले स्थानीय तहका स्वास्थ्य चौकीबाट खोप लगाइने भएको छ । स्थानीय तहमा रहेका स्वास्थ्य चौकीबाट ५५ वर्ष माथिका सर्वसाधारणलाई खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । –अनिल खत्री

प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  २०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update