Shittalpati
बहादुरपुरमा स्थायी बन्ध्याकरण शिविर

पाल्पा (माथागढी), जिल्लाको माथागढी गाउँपालिका ८ बहादुरपुरमा स्थायी बन्ध्याकरण तथा एकीकृत परिवार नियोजन शिविर भएको छ । जिल्ला स्वास्थ्य कार्यालय र नेपाल परिवार नियोजन संघ पाल्पाको सहयोग, माथागढी गाउँपालिकाको संयोजनमा एक दिने शिविर भएको हो ।बहादुरपुर स्वास्थ्य चौकीमा भएको शिविरमा सन्तान पुगेका सेवाग्राहीहरुले स्थायी विधि भ्यासेक्टोमी र लामो अवधिको साधन इम्प्लान्ट तथा आईयुसिडिको सेवा लिएको र त्यस सम्बन्धी जानकारी दिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

शिविरमा उत्साहजनक रुपमा सेवा लिन आएको स्वास्थ्य शाखा प्रमुख केशव जिसिले बताए । शिविरमा २८ जनाले सेवा लिएका छन् । स्वास्थ्य शाखा प्रमुख जिसीका अनुसार शिविरमा ५ जनाले भ्यासेक्टोमी र २३ जनाले इम्प्लान्ट सेवा लिएका छन् । घरदैलोमा सेवा लिन पाउँदा नागरिक उत्साहित भएका छन् । उनीहरुले उक्त सेवा लिनका लागि सदरमुकाम तानसेन जानुपर्ने बाध्यताबाट आफुहरुले केही भएपनि राहत महशुस गरेको बताए । शिविरमा माथागढी गाउँपालिका ८ का वडा अध्यक्ष, स्वास्थ्य चौकीका कर्मचारी, जिल्ला स्वास्थ्य कार्यालय, नेपाल परिवार नियोजन संघ, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थितिमा शिविर सञ्चालन भएको थियो । यहाँ भ्यासेक्टोमी गर्नेहरुको संख्या अत्यन्त कम हुने गरेको छ । स्थायी बन्ध्याकरण गरेपछि स्वास्थ्यमा नकारात्मक असर पर्ने र त्यसले गर्दा काम गर्न गाह्रो हुने बुझाइका कारण पुरुषहरू स्थायी बन्ध्याकरण गर्न नरुचाउने गरेको पाइन्छ । यो पुरुषको तुलनामा महिलाले बढी गर्ने गरेको पाइन्छ । पुरुषहरूले ठूलो भारी बोक्नुपर्छ, काम गर्न विदेश जानुपर्छ, त्यही कारण स्थायी बन्ध्याकरण महिलाहरूले नै गर्नुपर्छ भन्ने सोचका कारण पनि महिलाहरूले पुरुषको तुलनामा बढी नै प्रयोग गर्ने गरेका छन् ।

प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update